Logo

घट्दो ब्याजदरको प्रभाव : यसरी हुँदैछ अर्थतन्त्र बाउन्सब्याक

घट्दो ब्याजदरको प्रभाव : यसरी हुँदैछ अर्थतन्त्र बाउन्सब्याक



काठमाडौं । केहि समययता बैंकिङ प्रणालीको ब्याजदर घट्दो छ । गत साउनमा वाणिज्य बैंकहरुले गरेको भद्र सहमति तोडेसंगै बैंकको ब्याजदर औसत घट्न थालेको हो । बैंकले निक्षेपसंगै कर्जा लगानीको ब्याजदर पनि घटाउन थालेका छन । यसले सुस्ताएको अर्थतन्त्रले केहि गति लिने अर्थविज्ञहरुको दावी छ ।

laxmi

माघ महिनाको लागि वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर एकल अंकमा पुगेको छ । यो महिना वाणिज्य बैंकले आफ्ना बचतकर्तालाई औसत ८.१८ प्रतिशतको हाराहारीमा ब्याजदर दिने भएका छन । यसरी माघमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर गत पुस महिनाको भन्दा औसत ०.८२ प्रतिशत घटेको हो ।

यसैगरी, पुस महिनाको तुलनामा माघ महिनाको लागि राष्ट्रिय स्तरका विकास बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन । वित्त कम्पनीले पनि पुस महिनाको तुलनामा माघ महिनाको लागि निक्षेपको ब्याजदर घटाएका हुन् । पुस मसान्तसम्म ९.२५ प्रतिशत रहेको विकास बैंकको निक्षेपको ब्याजदर घटेर ८.९१ प्रतिशतमा झरेको छ । यसैगरी, वित्त कम्पनीले पनि माघ महिनाको लागि औसत ०.४६ प्रतिशत ब्याजदर घटाउँदै ९.८६ प्रतिशत पुर्याएका छन् । यसअघि पुसमा यस्तो ब्याजदर १०.३३ प्रतिशत थियो ।

बैंकहरुको निक्षेपको ब्याजदरसंगै पछिल्लो समय कर्जाको ब्याजदर पनि घट्दो छ । गत आर्थिक वर्षको अन्त्य (असार मसान्त)सम्म दोरोहो अंकमा रहेको वाणिज्य बैंकको आधारदर चालु आर्थिक वर्षको ६ महिना बित्दा एकल अंकमा आउन थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा वाणिज्य बैंकको आधार दर औसत ९.८१ प्रतिशत कायम भएको छ । यस अवधिसम्म आधाभन्दा धेरै वाणिज्य बैंकको आधारदर एकल अंकमा झरिसकेको छ । अब बैंकहरुको दोस्रो त्रैमास पनि सकिएको छ । बैंकहरुले दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्न बाँकी छ । दोस्रो त्रैमाससम्म बैंकको आधार दर अझ तल झर्ने अवस्था रहेको एक बैंकर बताउँछन ।

बैंकको ब्याजदर घट्न थालेपछि अर्थतन्त्र चलायमान हुने विज्ञहरुको धारणा छ । बैंकले कर्जाको ब्याजदर घटाउँदा उद्योग व्यवसायले पुनः गति लिने उद्योगी व्यवसायी बताउँदै आएका छन् । बैंकको ब्याजदर महँगो भएका कारण कर्जा लिन नसक्ने अवस्था भएको भन्दै व्यवसायीले चालु आर्थिक वर्षको सुरुवातमा सरकार तथा राष्ट्र बैंकलाई ब्याजदर घटाउने नीति लिन आग्रह गरेका थिए । सोही अनुरुप राष्ट्र बैंकले बैंकदर, नीतिगत दर लगायतका दरहरु घटाउँदै लगेको छ । यसकारण पनि बैंकको ब्याजदर घट्दो अवस्थामा छ । घट्दो ब्याजदरले उद्योग क्षेत्र, व्यवसायीक क्षेत्र, लगायत अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । यसैगरी, ब्याजदर घट्दा त्यसको सकारात्मक असर सेयर बजारमा पनि देखिन थालेको छ । पछिल्लो समय सेयर बजार मापक नेप्से सूचक संगै सेयर कारोबार रकममा पनि वृद्धि हुन थालेको छ ।

घरजग्गा कारोबार पनि अघिल्लो महिनाको तुलनामा केहि बढेको छ । आगामी दिनमा अर्थतन्त्रका अन्य पाटोहरु पनि सकारात्मक दिशातिर जाने विज्ञहरु बताउँछन । तर, यस पटक बैंकमा थुप्रिएर बसेको तरलता पनि पहिलाको जस्तो जथाभावी रुपमा लगानी भयो भने त्यसले आगामि दिनमा फेरी पहिलेको भन्दा गम्भिर अवस्था निमत्याउन सक्ने राष्ट्र बैंक श्रोत बताउँछ ।
‘ब्याजदर महँगो भएको कारण व्यवसाय गर्न सकेनौं, उद्योगधन्दा बन्द गर्नुपर्ने अवस्था आयो भन्ने व्यवसायीले लगानीको योजना लिएर आउनु पर्यो ।’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशक भन्छन, ‘अहिले लगानीको लागत धेरै कम भइसकेको छ, यसको फाइदा उद्योगी व्यवसायी उठाउन सक्छन ।’ तर, लागत कम भएको छ भनेर पहिले जस्तो जथाभावी रुपमा कर्जाको दुरुपयोग गर्न भने नहुने उनको बुझाई छ ।

ब्याजदर घट्दा यसले अर्थतन्त्रको केहि सूचकहरु चलायमान हुने पुर्व बैंकर भुवन दाहाल बताउँछन । ‘ब्याजदर घट्दा सेयर बजार, घरजग्गा कारोबार लगायतका कुरामा सुधार आएको छ,’ दाहाल भन्छन, ‘यसले आयातमा पनि गति लिनसक्छ ।’ तर, आयात, घरजग्गा कारोबार र सेयर कारोबारमात्र बढेर समग्र अर्थतन्त्रको समस्या समाधान भने नहुने दाहालको बुझाई छ ।
‘यसअघि जब सेयर भाउ, जग्गाको कारोबार र आयात बढेको छ, त्यस्तो बेला विदेशी मुद्रा सञ्चितिमा असर देखिएको छ ।’ दाहाल भन्छन, ‘यसकारण लगानीकर्ताले सजक भएर लगानी गर्नुपर्ने र बैंकरले पनि सजक भएर लगानी गर्नुपर्ने अवस्था छ ।’ बैंक तथा लगानी कर्जाले गैर उत्पादनमा पैसा खर्च गर्दा भविश्यमा त्यसको नकारात्मक असर देखिने उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL