Logo

डलरको मुल्य हालसम्मकै उच्च, के कारणले बढ्दैछ ?

डलरको मुल्य हालसम्मकै उच्च, के कारणले बढ्दैछ ?



काठमाडौं । बिहीबार नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली मुद्रासँग डलर सटही गर्न एक डलरकै १ सय ३३ रुपैयाँ ७५ रुपैयाँ खर्चनुपर्ने भएको छ । यो नेपाली मुद्रा हालसम्मकै कमजोर भएको दिन पनि हो । अर्थात डलर बलियो भएपछि नेपाली मुद्रा भने कमजोर हुन्छ ।

laxmi

खासगरी नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमुल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ । पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा लगातार कमजोर हुँदा नै यसको असर नेपाली मुद्रामा परेको देखिन्छ ।

यसअघि नेपाली मुद्रा मंसिर १५ गते र यसै हप्ताको मंगलबार हालसम्मकै कमजोर अवस्था मा पुगेको थियो । यी दुई दिन नेपाली बजारमा डलरको मूल्य प्रतिडलर १ सय ३३ रुपैयाँ ७४ पैसा थियो ।

नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको देशका लागि डलरको मुल्य बढ्नुको प्रत्यक्ष असर वस्तुको मुल्यमा पर्ने बिषय विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गरेर उपभोग गर्ने अवस्था छ । यसले विभिन्न वस्तुको मुल्य बढेसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि गरिदिन्छ । तसर्थ डलरको मुल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तिसँग हुन्छ ।

तर, विदेशमा गई डलर आर्जन गरी नेपालमा पठाउनेहरुलाई भने यसले फाईदा पुर्याउँछ । उनीहरुले कम डलर पठाएर धेरै नेपाली पैसा पाउने भएपछि फाईदा हुने राष्ट्र बैंकको एक अधिकारीले बताए ।

आज भारतीय मुद्रासँग डलर सटही गर्नुपर्याे भने ८३.३० भारतीय रुपैयाँ खर्चनुपर्ने अवस्था छ । बुधबार मात्रै अमेरिकी रिजर्भ बैंकले अब बैंक ब्याजदरमा हेरफेर गर्न समय समाप्त भएको प्रक्षेपण गरेसँगै एशियाली बजारमा डलरको मूल्यमा प्रभाव परेको थियो ।

फेड अध्यक्ष जेरोम पावेलले बुधवारको फेडरल ओपन मार्केट कमिटी बैठकमा मौद्रिक नीतिको ऐतिहासिक कडाई सम्भवतः समाप्त भएको बताए । अबको मुख्य उद्देश्य उधारो लागतमा कटौतीमा केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।

उधारो लागत अब घट्ने भन्दै नीति निर्माताहरू उनीहरूको अनुमानमा लगभग एकमत थिए । यसरी फेडले नै प्रक्षेपणसँग नयाँ घोषणा गरिदिँदा एशियाली प्राय बजारमा डलरको मूल्य केहि उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL