Logo

दुई महिनामा विदेशबाट २ खर्ब ६० अर्बको आयात, यी हुन् धेरै आयात भएका १० वस्तु

दुई महिनामा विदेशबाट २ खर्ब ६० अर्बको आयात, यी हुन् धेरै आयात भएका १० वस्तु



काठमाडौं । भन्सार विभागले चालु आर्थिक बर्षको २ महिना अर्थात साउन र भदौको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । जसमा सबैभन्दा बढी आयात हुने १० वस्तु मात्रै ६८ अर्ब ५५ करोड रुपैयाँ बराबरको आयात भएको देखिएको छ ।

laxmi

विभागका अनुसार पछिल्लो २ महिनामा नेपालले कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा प्रमुख १० वस्तुले मात्रै एक तिहाई हिस्सा ओगटेको देखिएको हो । जसको सबैभन्दा पहिलो स्थानमा भने डिजेल रहेको छ ।

पछिल्लो २ महिनामा मात्रै नेपालले विदेशबाट १५ अर्ब ७४ करोड ८२ लाख रुपैयाँ बराबरको १ लाख ५१ हजार किलोलिटर बढी डिजेल आयात गरेको हो । यस्तै धेरै आयात हुने वस्तुको सूचीको दोस्रो स्थानमा पेट्रोल र तेस्रो स्थानमा खाना पकाउने ग्याँस छ ।

पछिल्लो दुई महिनामा यी दुई वस्तु क्रमशः ११ अर्ब ३० करोड र ७ अर्ब ३२ करोड रुपैयाँ बराबरको आयात भएका छन् ।
यस्तै यसै अवधिमा धेरै आयात हुने वस्तुको चौथो, पाँचौं, छैठौं र सातौं स्थानमा भने क्रमशः कच्चा फलाम, आइरन सिट, स्मार्टफोन र सुन छन् । यस अवधिमा यी वस्तुहरु नेपालमा क्रमशः ७ अर्ब ३ करोड, ५ अर्ब ९९ करोड, ५ अर्ब ३६ करोड र ४ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ ।

यस्तै धेरै आयात हुने मुख्य १० वस्तुको आठौं, नवौं र दशौं स्थानमा भने औषधि, मल र कोईला रहेका छन् । यी दुई महिनामा यी वस्तुहरु क्रमशः ४ अर्ब ११ करोड, ३ अर्ब ९९ करोड र ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ ।

विभागका अनुसार पछिल्लो दुई महिनामा नेपालले कुल निर्यात पनि २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको गरेको छ । यसरी हेर्दा गन आवको यहि अवधिको तुलनामा नेपालको आयात, निर्यात र व्यापारघाटा क्रमशः ५, ७ र ४ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार पनि गत आवको सोही अवधिको तुलनामा ५.३२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL