Logo

राजस्व संकलनमा असफल बन्दै सरकार, पहिलो महिनामै गत बर्षभन्दा झण्डै ४ अर्ब कम संकलन

राजस्व संकलनमा असफल बन्दै सरकार, पहिलो महिनामै गत बर्षभन्दा झण्डै ४ अर्ब कम संकलन



काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा सरकार राजस्व संकलनमा नाजुक देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा गत आवको सोही अवधिको तुलनामा कुल राजस्व मात्रै करिव ४ अर्ब रुपैयाँले कम संकलन भएको हो ।

laxmi

कार्यालयको तथ्यांक अनुसार चालु आवको पहिलो महिना साउनमा कुल ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । जुन गत आर्थिक बर्षको सोही महिनामा ९२ अर्ब १२ करोड ३२ लाख रुपैयाँ बराबर संकलन भएको थियो । यो चालु आवको साउनको तुलनामा ३ अर्ब ९८ करोड ४२ लाख रुपैयाँले बढी हो ।

सरकारले चालु आवभरी १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । जसमध्ये साउनमा मात्रै लक्ष्यको ५.९९ प्रतिशत राजस्व संकलन भएको महालेखा नियन्त्रकले जानकारी दिएको छ । जसमध्ये लक्ष्यको ५.५४ प्रतिशत आम्दानी राजस्व शिर्षकमा मात्रै भएको पाईएको छ । यसमा पनि ५.३८ प्रतिशत कर राजस्वमार्फत र ७.४३ प्रतिशत राजस्व गैरकरमार्फत संकलन भएको छ ।

यस अवधिमा सरकारले राजस्व शिर्षकमा ७८ अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेको हो । यो पनि गत आवको सोही अवधिको तुलनामा १९ अर्ब रुपैयाँले कम हो ।

यता चालु आवको पहिलो महिना साउनमा सरकारको खर्चमा भने गत आवको सोही अवधिको तुलनामा सुधार भएको छ । गत आवको पहिलो महिनाभरी २४ अर्ब १ करोड ४९ लाख रुपैयाँ बराबर खर्च गर्न सकेको सरकारले चालु आवको पहिलो साउनमा भने उक्त खर्च बढाएर ३५ अर्ब १७ करोड माथि पुर्याएको छ । यो गत आवको तुलनामा ११ अर्ब १६ करोड रुपैयाँले बढी हो ।
सरकारले चालु आवभरी कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

यसरी चालु आवको पहिलो महिनामा कुल खर्चमा सुधार आएपनि पुँजीगत खर्चमा भने गत आवको भन्दा अवस्था नाजुक नै छ । चालु आवको पहिलो साउनमा सरकारले गत बर्षको सोही अवधिको तुलनामा ६० करोड २४ लाख रुपैयाँ कम पुँजीगत खर्च गर्न सकेको छ । गत आवको पहिलो साउनमा १ अर्ब ५० करोड ८५ लाख रुपैयाँ बराबरको पुँजीगत खर्च गरेको सरकारले चालु आवको सोही अवधिमा ९० करोड ६१ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

सरकारले चालु आवभरी ४ खर्ब ७१ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएकोमा पहिलो महिना लक्ष्यको ०.१९ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । यस अवधिसम्म सरकारले कुल खर्च लक्ष्यको २ प्रतिशत गरेको छ । जसमा चालु खर्च भने लक्ष्यको १.२८ प्रतिशत भईसकेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL