Logo

डलरको मुल्य हालसम्मकै उच्च, नेपालजस्तो अर्थतन्त्रलाई कस्तो असर पर्छ ?

डलरको मुल्य हालसम्मकै उच्च, नेपालजस्तो अर्थतन्त्रलाई कस्तो असर पर्छ ?



काठमाडौं । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विदेशी विनिमय दरअनुसार बिहीबार नेपाली बजारमा एक अमेरिकी डलर खरिद गर्न १ सय ३३ रुपैयाँ १४ पैसा खर्च गर्नुपर्ने भएको हो । आज अमेरिकी डलरको खरिद मुल्य १ सय ३२ रुपैयाँ ५४ पैसा र विक्री मुल्य १ सय ३३ रुपैयाँ १४ पैसा पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

पछिल्लो समय विश्व बजार प्रवृत्तिमा परिवर्तन र अमेरिकी फेडरल रिजर्भ बैंकको ब्याजदर वृद्धिका कारण डलर बलियो बनिरहेको छ । जसको प्रत्यक्ष असर विश्वभरका धेरै देशका मुद्रामा देखिन्छ । फेडको व्याजदर वृद्धिकै कारण विश्वभरका धेरै मुद्राहरु कमजोर हुँदै गएका छन् । नेपाली मुद्रा पनि बिहीबार हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।

नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको देशका लागि डलरको मुल्य बढ्नुको प्रत्यक्ष असर वस्तुको मुल्यमा पर्ने बिषय विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गरेर उपभोग गर्ने अवस्था छ । यसले विभिन्न वस्तुको मुल्य बढेसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि गरिदिन्छ । तसर्थ, डलरको मुल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तिसँग हुन्छ । तर, विदेशमा गई डलर आर्जन गरी नेपालमा पठाउनेहरुलाई भने यसले फाईदा पुर्याउँछ । उनीहरुले कम डलर पठाएर धेरै नेपाली पैसा पाउने भएपछि फाईदा हुने राष्ट्र बैंकको एक अधिकारीले बताए ।

नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमुल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ । पछिल्लो समय नेपालको आयात व्यापार उच्च भई व्यापारघाटाको खाडल बढ्नुमा पनि डलर मुल्यको प्रत्यक्ष सम्बन्ध रहन्छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षभरी भएको आयातित वस्तुको परीमाणको तुलनामा मुल्य उच्च हुँदा आयात बढीजस्तो देखिएको हो । तर, वस्तुको खपतमा भने खासै ठुलो परिवर्तन आएको छैन ।

पछिल्लो समय फेडले ब्याजदरमा उच्च वृद्धि गरेपछि अमेरिकी डलर पछिल्लो २० बर्षकै उच्च स्थानमा पुगेको छ भने यसको प्रत्यक्ष असरका कारण युरो २० बर्ष यताकै कमजोर बनेको छ । डलरको मुल्य लगातार बलियो बन्दै जाँदा विस्तारै अघि बढिरहेको विश्व अर्थतन्त्रमा १९९० को दशकको जस्तै ऋण संकट दोहोरिने विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

त्यसबेला डलरको मुल्य उच्च हुँदो धेरैजसो एशियाली देशका मुद्राहरु अति कमजोर भएका थिए र विदेशी ऋणहरु डिफल्ट हुन थाले । धेरैजसो देशमा कुल गार्हस्थ उत्पादनमा वैदेशिक ऋणको अनुपात १ सय प्रतिशतदेखि १६७ प्रतिशतसम्म पुगेको थियो । जसको प्रत्यक्ष प्रभाव थाईल्यान्ड, इन्डोनेशिया दक्षिण कोरियालगायतका देशहरुले व्यहोरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL