Logo

सात महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी नेपाल भित्रियो, जलविद्युतमा क्षेत्रमा भने लगानी शून्य

सात महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी नेपाल भित्रियो, जलविद्युतमा क्षेत्रमा भने लगानी शून्य



काठमाडौं । पछिल्लो सात महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी नेपालले स्वीकृत गरेको छ । चालु आवको हालसम्म उद्योग विभागले २४ अर्ब १३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

laxmi

सो लगानी १ सय ३१ ओटा उद्योगहरुमार्फत पर्यटन र सेवा क्षेत्र केन्द्रित रहेको देखिन्छ । तर, जलविद्युत क्षेत्रमा भने यो अवधिमा लगानी प्रतिबद्धता शून्य छ ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ७ महिनामा सबैभन्दा बढी प्रतिवद्धता आएको पर्यटन र सेवा क्षेत्रका क्रमशः ७८ र ३२ ओटा उद्योग दर्ता भएका छन् । जसमार्फत क्रमशः १५ अर्ब ५३ करोड ८५ लाख र ५ अर्ब २१ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो । यस्तै यस अवधिमा उत्पादनमुलक क्षेत्रका १३ उद्योगमार्फत २ अर्ब ५९ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

तर सबै क्षेत्रमा अनुकुल रुपमा लगानी आइरहेपनि जलविद्युत क्षेत्रमा आउने लगानी भने शून्यजस्तै छ । गत आर्थिक बर्षको यही अवधिमा नेपालमा जलविद्युत क्षेत्रका ६ उद्योगमार्फत ११ अर्ब ८२ करोड २६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । फ्रान्स, दक्षिण कोरिया, बेलायत तथा दुवईलगायतका देशबाट आएको उक्त लगानीअन्तर्गत देशका विभिन्न स्थानमा करिव १ सय मेगावाट जलविद्युत उत्पादन गर्नेरी प्रतिवद्धता आएको थियो ।

यस्तै आर्थिक बर्ष २०७५÷७६ मा पनि जलविद्युत क्षेत्रमा वैदेशिक लगानी नआएको विभागको तथ्यांकमा उल्लेख छ । अन्य क्षेत्रका सबै उद्योगमा लगानी प्रतिवद्धता आएपनि उक्त आर्थिक बर्षभर जलविद्युत क्षेत्रमा भने वैदेशिक लगानी आएको देखिँदैन ।

तर, आर्थिक बर्ष २०७४÷७५ मा भने विभिन्न ५ ओटा जलविद्युत आयोजनाका उद्योगमार्फत ३७ अर्ब ८९ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको थियो । यस्तै त्यसकै अघिल्लो बर्ष अर्थात आर्थिक बर्ष २०७३÷७४ मा पनि यो क्षेत्रमा लगानी नआएको विभागले जानकारी दिएको छ । विभागका अनुसार अनुकुल वातावरण मिलेको अवस्था हेरी विदेशी लगानीकर्ताले जलविद्युत क्षेत्रमा लगानी गर्नेगरेका छन् । यस्तै आर्थिक बर्ष २०७२÷७३ मा पुनः यस क्षेत्रमा लगानी ३ अर्ब ७२ करोड रुपैयाँको स्वीकृत भएको थियो । उक्त बर्षभर नेपालमा विभिन्न ४३ उद्योगमार्फत उक्त लगानी स्वीकृत भएको विभागले जानकारी दिएको छ ।

हालसम्म नेपालमा २ सय ६४ ओटा कम्पनीले विद्युत उत्पादनको सर्वेक्षण अनुमति लिएका छन् भने २ सय ४० ओटा कम्पनीले विद्युत उत्पादन अनुमति पत्र लिएका छन् । विद्युत विकास विभाले दिएको यस्तो अनुमतिपत्रका आधारमा ८ हजार ५ सय २० मेगावाट जलविद्युत उत्पादन गर्नेगरी अनुमति पत्र दिईँदा १५ हजार ९ सय १७ मेगावाटका लागि सर्भे अनुमति दिईएको छ ।

नेपाल सरकारले १० बर्षमा १० हजार र १५ बर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्नेगरी १५ बर्षीय र १० बर्षीय योजना नै अघि सारेको छ । तर यो क्षेत्रमा विदेशी लगानी नआउँदा उक्त योजना नै फेल हुनसक्ने विज्ञहरु बताउँछन् । नेपालमा हाल ८४ वटा जलविद्युत आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ । यी आयोजनाको कुल जडित क्षमता १ हजार १ सय १५ मेगावाट छ ।


नेपाललगायत विश्वभर गत बर्षदेखि फैलिएको कोरोना कहरका कारण भने यो क्षेत्रमा विदेशी लगानी आकर्षित नभएको उद्योग विभागले जानकारी दिएको छ । कोरोना कहरकै कारण धेरै क्षेत्र बन्द भएसँगै नेपालमा यस क्षेत्रमा लगानी आउन नसकेको विभागका महानिर्देशक जीवलाल भुषाल बताउँछन् । ‘कोरोना कहरमा धेरै क्षेत्रहरु ठप्प भए, हाम्रै सेवा पनि २ देखि ३ महिना बन्दजस्तै भयो,’ उनले भने, ‘त्यही कारण जलविद्युत मात्रै नभई अन्य क्षेत्रमा पनि लगानी खस्केको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL