Logo

दुई लाख बेरोजगारलाई रोजगारी दिन सरकारले पठायो ५६९ पालिकालाई ३ अर्ब रुपैयाँ (सूचीसहित)

दुई लाख बेरोजगारलाई रोजगारी दिन सरकारले पठायो ५६९ पालिकालाई ३ अर्ब रुपैयाँ (सूचीसहित)



काठमाडौं । सरकारले देशभरका युवा बेरोजगारको सूचीमा सूचीकृत भएकामध्ये दुई लाख नागरिकलाई रोजगारीका लागि रकम निकासा गरेको छ ।

laxmi

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारले ५६९ पालिकालाई तीन अर्ब रुपैयाँ अनुदानका रूपमा ससर्त पठाएको हो । सरकारले बजेटमा घोषणा गरे अनुसार दुई लाख रोजगारी सिर्जना गर्न हालसम्म छ अर्ब ८९ करोड रुपियाँ स्थानीय तहमा पठाइसकेको छ ।

कार्यक्रमले पालिकामा आएका बेरोजगारका आवेदन छनोट गरेर प्राथमिकताका आधारमा मङ्सिर १५ भित्र रोजगार सेवा केन्द्रमा उपलब्ध गराउन आग्रह गरेको छ । तोकिएको समयभित्र आवेदन नपठाउने पालिकामा यो वर्षको रोजगार कार्यक्रमका लागि छुट्याइएको बजेट पठाउन नसकिने रोजगार कार्यक्रम सचिवालयले उल्लेख गरेको छ । जुन जुनपालिकाबाट मङ्सिर १५ भित्र आवेदन आउँछ, ती सूचीकृत गर्ने र बजेट पठाउने त्योभन्दा पछि पठाउने पालिकामा बजेट पठाउन नसकिने कार्यक्रमले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षमा रोजगार कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिएको थियो र त्यसका लागि पाँच अर्ब एक करोड रुपियाँ बजेट खर्चिएको थियो ।

कार्यक्रममा देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यो तथ्यांक असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि बेरोजगार युवाले आवेदन दिएको हो । यसमा आउँदो १५ गतेसम्म अझै बढी बेरोजगारको संख्या बढ्न सक्ने छ ।

श्रम मन्त्रालयले उक्त कार्यक्रममार्फत चालू आर्थिक वर्ष २०७७÷७८ मा दुई लाख विपन्न बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य लिएको छ । तर, रोजगारीका लागि आवेदन दिने बेरोजगारको संख्या भने अत्यधिक छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी तथा देशभित्रै पनि हजारौँको संख्यामा नेपाली श्रमिकले रोजगारी गुमाएका कारण बेरोजगारको संख्या बढ्दै गएको छ ।

श्रम मन्त्रालयले स्थानीय तहमा खटिएका रोजगार संयोजकबाट संकलन गरेको तथ्यांक अनुसार यो संख्या बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिएका आधारमा सूचीकृत गरेको जनाएको छ ।
मन्त्रालयले स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा स्थानीय तहलाई पत्राचार गर्दै बेरोजगार युवालाई आ–आफ्नो पालिकामा गत भदौ ७ सम्म आवेदन दिने समय तोकेको थियो ।

पालिकामा आएका बेरोजगारका आवेदन छनोट गरी रोजगार संयोजकसमक्ष पठाएपछि संयोजकले बेरोजगारीको सूचीमा सूचीकृत गर्छन । योे संख्या बेरोजगारको सूचीकृतको सूची हो ।

रकम पठाइएका पालिकाको सूची :

https://drive.google.com/file/d/1Lzq6tTJrL9gTLB728nLYvkW8oxlArweS/view

प्रतिक्रिया दिनुहोस्
MBL