Logo

कोरोनाका कारण बढे मानसिक रोगी, नेपालमा कुल जनसंख्याको साढे ६ प्रतिशत वयस्कमा आत्महत्याको सोच

कोरोनाका कारण बढे मानसिक रोगी, नेपालमा कुल जनसंख्याको साढे ६ प्रतिशत वयस्कमा आत्महत्याको सोच



काठमाडौं । कोरोनापछिको लामो समयको लकडाउनका कारण नेपालमा मानसिक रोगीहरुहरु बढेको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसंन्धान परिषदद्वारा संञ्चालित राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले नेपालमा कोरोना पछिको लकडाउनको कारण मानिसहरुमा मानसिक समस्या बढेको देखाएको हो ।

परिषद्ले नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणले ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको उक्त सर्वेक्षणमा उल्लेख छ । परिषद्ले १५ हजार ८८ जनामा सर्वेक्षण गरेको थियो । जस मध्ये ९ हजार २ सय जना १८ बर्ष माथिका वयस्क थिए भने ५ हजार ८८८ जना १३–१७ बर्ष सम्मका किशोर–किशोरी थिए ।

सर्वेक्षणमा आएको परिणाम अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ । यसैगरी ३ प्रतिशत वयस्कमा उदासिनताको समस्या देखिएको छ । सर्वेक्षणले ४.२ प्रतिशत वयस्कमा मादक पर्दाथ सेवन गरेको कारण र ०.२ प्रतिशत वयस्कमा मादक पर्दाथ बाहेकका अन्य कुनै प्रकारको नसालु पर्दाथ प्रयोगरसेवन गरेको कारण मानसिक समस्या भएको देखाएको छ ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशका बयस्कहरुमा मानसिक समस्या रहेको पाइएको छ । सो प्रदेशमा कुल जनसंख्याको ५.९ प्रतिशतमा अहिले पनि मानसिक समस्या रहेको भेटिएको छ । यसैगरी उमेरगत रुपमा ४०–४९ बर्ष उमेर समुहका ६.३ प्रतिशत बयस्कमा यस्तो समस्या देखियो । बयस्क उमेर समुहभित्रका महिला र पुरुषको तुलना ५.१ प्रतिशत महिला र ३.४ प्रतिशत पुरुषमा मानसिक समस्या रहेको पाईयो ।

यसैगरी ५.२ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको देखिएको छ भने ०.६ प्रतिशत किशोर किशोरीमा उदासिनताको समस्या देखिएको छ । जसमध्ये ३.९ ५ किशोर किशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र ०.७ प्रतशित किशोर किशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास सर्वेषणले देखाएको छ ।

सर्वेक्षण अनुसार २३ प्रतिशत वयस्कले आफुमा लक्षण देखिए पश्चात चिकित्सक वा अन्य ब्यतिसँग सहयोग मागेको देखिएको छ । सहयोग प्रदायक ब्यति वा चिकित्सक मध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६.७ प्रतिशत जोखाना, हेर्ने, पुजाआजा गर्ने र धामीझाक्री लगाउने गरेको पाईएको छ ।

तर मानिसक रोगीहरुमध्ये बाँकी ७७ प्रतिशतले आफुलाई कुनै पनि मानसिक समस्या भएको छैन भनी सोच्ने, सबै मानिसले आफुलाई बहुला वा पागल भनी चिन्छन भन्ने डर हुने, आफुमा मानसिक समस्या छ भन्ने थाहा पाए लज्जित हुने डर, आफ्नो समस्या कहाँ गएर समाधान गर्ने भन्ने जानकारी नहुनेजस्ता कारणले उपचार नै नगराएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL