Logo

तरलता हुँदा पनि निक्षेप संकलनमा बैंकहरुबीच किन हुँदै छ ‘इन्ट्रेष्ट वार’?, बैंकर भन्छन्-राष्ट्र बैंकको व्यवस्थाले समस्या निम्त्यायो

तरलता हुँदा पनि निक्षेप संकलनमा बैंकहरुबीच किन हुँदै छ ‘इन्ट्रेष्ट वार’?, बैंकर भन्छन्-राष्ट्र बैंकको व्यवस्थाले समस्या निम्त्यायो



काठमाडौं । बैंकमा लगानीयोग्य रकम (तरलता) उच्च हुँदा पनि बैंकहरुबीच निक्षेप संकलनमा प्रतिस्पर्धा देखिएको छ । उच्च तरलता भएका भन्दै ७ प्रतिशतमै कर्जा प्रबाह गर्दै आएका बैंकले हाल आएर साढे ९ प्रतिशत ब्याजदरमा समेत निक्षेप संकलन गर्न थालेका छन् ।

पछिल्लो समय बैंकहरुले विज्ञापन नै प्रकाशित गरेर बढावढमा निक्षेप संकलन गर्न थालेका छन् । केही समय अघि २÷३ ओटा वाणिज्य बैंकले मात्र बढी ब्याजमा निक्षेप संकनल गर्दै आएकोमा पछिल्ला दिनमा प्रायःजसो बैंकले उच्च ब्याजदर दिएर निक्षेप संकलन गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले समयसमयमा परिवर्तन गरिरहने नीति नियमका कारण बैंकहरुलाई समस्या परेको एक बैंकरले बताए । ‘बैंकहरु एउटा नीति नियममा बसेर काम गर्दै आएका हुन्छन् तर राष्ट्र बैंकले समय समय विभिन्न खालका नयाँ नयाँ नीति नियम ल्याईरहेको हुन्छ,’ ती बैंकरले भने, ‘राष्ट्र बैंकले ल्याएको नीति नियम भित्र रहनका लागि वा त्यसअनुसार चल्नका लागि पनि अहिले कर्जाको ब्याजभन्दा महंगोमा निक्षेप संकलन गर्नु परेको छ ।’

राष्ट्र बैंकले अघिल्लो हप्तामात्रै एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर (फिक्स) गर्न निर्देशन दिएको छ । तर, अहिलेकै आधारदर १५÷२० बर्षका लागि फिक्स ब्याजदरमा लगानीगर्दा बैंकहरुलाई समस्या पर्ने भएकाले पनि उक्त आधारदर वृद्धि गर्नकै लागि कतिपय बैंकहरु उच्च ब्याजदरमा निक्षेप संकलन गर्दै आएको सम्बद्ध स्रोतको भनाई छ । ‘अहिले वाणिज्य बैंकहरुको औसत आधारदर ७ प्रतिशतको हाराहारीमा छ,’ एक बैंकरले भने, ‘राष्ट्र बैंकको नीति अनुसार बैंकहरुले सोही आधारदरमा १५÷२० बर्ष लामो स्थिर ब्याजदरमा आवधिक कर्जा प्रदान गर्न सक्दैनन् ।’

बैंकहरुले आन्तरिक रुपमा व्यवस्था गर्नका लागि बढी ब्याज दिएर निक्षेप संकलन गर्न थालेको नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । ‘राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण हाल बैंकहरुलाई ‘इन्ट्रेष्ट स्प्रेड’ व्यवस्थापन गर्न कठिन भैरहेको छ,’ उनले भने, ‘त्यसैलाई व्यवस्थापन गर्न बैंकहरुले महंगो ब्याजदरमा निक्षेप संकलन गर्दै आएका हुन् ।’ बैंकको आधार दर ब्यवस्थापन तथा राष्ट्र बैंकको निर्देशन अनुसार इन्ट्रेष्ट स्प्रेड ४.४ मा झार्नुपर्ने बाध्यता भएकाले पनि उच्च ब्याजमा निक्षेप तान्नु परेको हो ।

यसैगरी नविल बैंकका नायव महाप्रबन्धक मनोज ज्ञवाली पनि अहिले निक्षेप संकलनमा प्रतिस्पर्धा नभई बैंकको आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले केही महंगो दरमा निक्षेप संकलन भैरहेको बताउँछन् । ‘अहिले बैंकहरुले संस्थागत नभई व्यक्तित निक्षेप संकलनमा प्रतिपर्धा गरिरहेको देखिन्छ,’ उनले भने, ‘बैंकहरुको सीसीडी अनुपात, स्प्रेडदर, वेस रेट आदि मिलाउनका लागि त्यसरी निक्षेप संलकन गरिएको हो, यो एक प्रकारको बैंकहरुको आन्तरिक रणनीति पनि हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL