Logo

यस्ता छन् सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने डा रवीन्द्र पाण्डेले सुझाएका २० मापदण्ड

यस्ता छन् सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने डा रवीन्द्र पाण्डेले सुझाएका २० मापदण्ड



काठमाडौं । लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ | सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलिने डर हुन्छ |

laxmi

सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन | यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ | यसको लागि निम्न लिखित सुरक्षा सतर्कता अपनाउनु जरुरी छ |
.
१. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने |

२. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई दिनमा पटकपटक संक्रमणरहित बनाउने |

३. पुराना फोम तथा कपडा भएका सिटलाई निकालेर सिन्थेटिक वा प्लास्टिकका सिट बनाउने । यसो गर्दा सफाइ गर्न सजिलो हुन्छ |

४. घटीमा पनि १.५ मिटरको दूरी कायम हुने गरी सिट प्लान गर्ने |

५. यातायातका साधनमा अनिवार्य रूपमा ह्यान्ड स्यानिटाइजर राख्ने |

६. ड्राइभर तथा सहयोगीले अनिवार्य रूपमा सही तरिकाले मास्क, पञ्जा, चश्मा तथा फेस शील्डको प्रयोग गर्ने, पटकपटक ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने, नथुक्ने, चिच्याएर कुरा नगर्ने |

७. प्रवेश गर्न एउटा ढोका र बाहिर निस्किन अर्को ढोका प्रयोग गर्ने |

८. सबै झ्याल अनिवार्य रूपमा खोल्ने |

९. पहिलो महिना सिट क्षमताको ३० प्रतिशत मात्र प्यासेन्जर राख्ने |

१०. स्टपमा मात्र चढ्ने तथा ओर्लिने व्यवस्था गर्ने |

११. चढ्दा तथा ओर्लिंदा हतार नगर्ने, एक एक जनाको दूरी कायम हुने गरी चढ्ने तथा ओर्लिने, ढोकाको मुखमा तथा बस स्टपमा दूरीको ख्याल गर्ने |

१२. प्यासेन्जरले सही तरिकाले मास्क लगाउने, चश्मा लगाउने तथा स्यानिटाइजर पटकपटक प्रयोग गर्ने, बसमा जथाभावी नछुने, छोएपछि हात सफा गरिहाल्ने तथा नाक मुख र आँखालाई नछुने, व्यक्तिगत दूरीको ख्याल गर्ने |

१३. आधा घण्टासम्मको दूरीमा बस प्रयोग नगर्ने, हिँड्ने | हलुका र शरीर छोपिने कपडा लगाउने |

१४. सुरक्षित यात्राको लागि प्रत्येक बसमा अनुगमन गर्न र मिलाउनका लागि एकजना सुरक्षाकर्मीको व्यवस्था गर्ने |

१५. दुई महिना माइक्रोबस नचलाउने, माइक्रोबसमा व्यक्तिगत दूरी असम्भव हुन्छ |

१६. ज्वरो, रुघा तथा खोकी लागेका व्यक्तिलाई सार्वजनिक बसमा नचढ्ने |

१७. प्यासेन्जर तथा चालक समूहले गन्तव्यमा पुगेपछि साबुनपानीले मिचीमिची हात धुने लगायतका सरसफाइ गर्ने |

१८. बालबालिका, गर्भवती, सुत्केरी, दीर्घबिरामी तथा जेष्ठ नागरिकले सकभर यो दुई महिना सार्वजनिक यातायातको प्रयोग नगर्ने |

१९. पैसाको क्यासलेस कारोबार गर्ने, त्यो सम्भव नभएमा खुद्रा मिलाएर दिने, फिर्ता नलिने ।

२०. बसमा थर्मल गन ( ज्वरो नाप्ने ) ले प्यासेन्जरको तापक्रम नाप्ने | बसभित्र स्यानिटाइजर राख्ने | मास्क नलगाएका व्यक्तिलाई बस चढ्न नदिने | – डा पाण्डे जनस्वास्थ्यविद हुन्

प्रतिक्रिया दिनुहोस्
MBL