Logo

महानगर र खाली सिसीबीच सम्झौता, बियरको सिसी १ रुपैयाँ र अण्डा क्रेटको ३ रुपैयाँ

महानगर र खाली सिसीबीच सम्झौता, बियरको सिसी १ रुपैयाँ र अण्डा क्रेटको ३ रुपैयाँ



काठमाडौं । काठमाडौं महानगपालिका र खाली सिसी व्यवस्थापन प्रालिबीच सम्झौता भएको छ । महानगरपालिकाले आफ्ना क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न खाली सिसी व्यवस्थापन प्रालिसँग सम्झौता गरेको हो ।

laxmi

महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ र प्रालिका अध्यक्ष आयुषी केसीबीच सम्झौता भएको हो । सम्झौताबमोजिम महानगरवासीले बोलाएका ठाउँमा गएर प्रालिले सामान खरिद गर्नुपर्नेछ ।

नगरवासीले बिक्री गर्न चाहेको सामानको विवरण र ठेगाना पठाएपछि प्रालिले पहिचान झल्कने पोशाक लगाएका व्यक्ति सामान खरिद गर्न पोको पार्ने र ढुवानी गर्ने जिम्मेवारी प्रालिको नै हुनेछ । यसरी खरिद गरिने सामानको प्रकृतिअनुसार मूल्य तोकिएको छ । सम्झौताको अनुसूचीमा कागज, सिसा, प्लाष्टिक, धातु र स्टिल तथा विद्युतीय गरी पाँच प्रकृतिका पुनःप्रयोग फोहर खरिद गरिने वस्तु उल्लेख छ ।

प्रतिकिलो खबर कागज १० रुपैयाँ, कापी १२, किताब, ए ४ साइज कागज र म्यागाजिनको ७–७, परीक्षा कागजको १० तथा कार्डबोर्ड र अण्डाको क्रेट ३–३ रुपैयाँ राखिएको छ । सो मूल्य सामान खरिद गरिने स्थानका आधारमा पनि तय हुनेछ । प्रालिका अध्यक्ष केसीले लामो दूरीबाट ढुवानी गर्नुपर्याे भने मूल्य कम हुन सक्ने बताएका छन ।

अनुसूचीमा राखिएको दोस्रो प्रकृतिको पुनःप्रयोगीय फोहरअन्तरगत बियरको बोतलको प्रतिगोटा १ रुपैयाँ र वाइनको बोतल प्रतिगोटा ५० पैसा राखिएको छ । त्यस्तै तेस्रो प्रकृतिको पुनःप्रयोगीय फोहोरमा प्लाष्टिकजन्य वस्तु राखिएको छ । स्याम्पुको खोल र पानीलगायत प्लाष्टिकका बोतलमा राखिएका पेय वस्तुका खोलको मूल्य प्रतिकिलो ५ रुपैयाँ राखिएको छ ।

धातुजन्य फोहोरअन्तरगत अल्मुनियमका सामानको प्रतिकिलो ९० र सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिल फर्निचरको अवस्थानुसार मूल्य निर्धारण गरिने उल्लेख छ । त्यस्तै पित्तल, तामा, स्टिल र टिनको मूल्य प्रतिकिलो क्रमशः २०, ३८०, ४५०, २० र ४ रुपैयाँ निर्धारण गरिएको छ ।

‘ती सामानको मूल्य हामी वडा कार्यालयमार्फत स्थानीयवासीको सूचनामा पुर्याउँछौंँ”, महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले भने । यसरी भएको सहमतिले कामपालाई फोहर व्यवस्थापन गर्न थप सहयोग पुग्ने बताउँदै श्रेष्ठले यसले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने नगरवासीको विकाससमेत हुने विश्वास व्यक्त गरेका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL