Logo

सरकारले सबै शैक्षिक संस्थान बन्द गर्ने निर्णयसँगै परामर्श र तालिमका कार्यक्रम पनि बन्द

सरकारले सबै शैक्षिक संस्थान बन्द गर्ने निर्णयसँगै परामर्श र तालिमका कार्यक्रम पनि बन्द



काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि बन्द गराउने निर्णय गरेको छ ।

कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णय कार्यान्वयनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयले हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा हुने गरी निर्धारण गरिएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र विश्वविद्यालय तहका सम्पूर्ण परीक्षा अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिएको छ ।

मन्त्रालय प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित सबै प्रकारका बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय, शैक्षिक प्रतिष्ठान र विश्वविद्यालयको पठनपाठन यही चैत मसान्तसम्म बन्द गर्ने जानकारी दिएको छ ।

मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठान एवं निजी क्षेत्रका शैक्षिक परामर्श (कन्सल्टेन्सी) बाट सञ्चालित कार्यक्रम पनि चैत मसान्तसम्म बन्द गर्ने उल्लेख गरेको छ । साथै अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रम चैत मसान्तसम्म बन्द गर्ने पनि निर्णय गरेको छ ।

पूर्व निर्धारित तालिका अनुसार आजदेखि एसइई परीक्षाको सम्पूर्ण तयारी भइसकेको थियो तर परिस्थितिगत कारणले एकाएक परीक्षा रोकिएपछि टाढा टाढा परीक्षा केन्द्र भई तयारीमा पुगेका विद्यार्थी फर्कन थालेका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL