Logo

महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछु उपाध्यक्ष ढकाल

महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछु उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन । बागलुङ उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभामा मंगलबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाका विषयहरुमा सरकारसँग वार्ता र सम्वादमार्फत समाधान खोज्ने बताएका हुन ।

‘तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानुनहरु सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीहरुमा केही कन्फ्युजन सृजना भएको छ,’ उनले भने, ‘सरोकारवाला पक्षसँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानुनहरु व्यवहारिक हुँदैनन् ।’

उनले सरोकारहरुसँग छलफल गरेर मात्र कानुन ल्याउँदा कार्यन्वयनमा सहज हुने बताएका छन । स्थानीय श्रोत साधनको प्रयोग हुने र स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कुनै न कुनै आयोजना बागलुङमा तत्काल सुरु गर्न बागलुङका स्थानीय व्यवसायीहरुसँग छलफल भइरहेको उनको भनाई छ ।

‘म त बागलुङ मै जन्मिएको हो । भाषण भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मलाई लागेको छ । म के भन्न चाहन्छु भने, म जे बोल्छु, त्यो कार्यन्वयन गरेरै छोड्छु । हामीले केही समयमै कुनै न कुनै काम यहाँ सुरु गर्नेछौं,’ उनले भने ।

उनले आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनावपछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासाहरु आफ्नो हकमा लागु नहुने स्पष्ट पारे ।

यस अघि बागलुङ महोत्सवका अवसरमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको आगामि ५४औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL