Logo

गैरकृषि क्षेत्रको बृद्धिदर १० वर्षयताकै न्यून, जीडीपी बृद्धिदर ३ प्रतिशतमा झर्याे

गैरकृषि क्षेत्रको बृद्धिदर १० वर्षयताकै न्यून, जीडीपी बृद्धिदर ३ प्रतिशतमा झर्याे


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ जेठ, काठमाडौं । चालू आर्थिक वर्ष २०७१÷७२ मा कुल गार्हस्थ्य उतपादन (जीडीपी)को बृद्धिदर ३ दशमलव शुन्य ४ प्रतिशतमा खुम्चने प्रारम्भिक अनुमान केन्द्रिय तथ्याङ्क विभागले गरेको छ । गत वैशाख १२ मा आएको शक्तिशाली भुकम्पका कारण अर्थतन्त्रमा ठूलो क्षति भएपछि जीडीपी बृद्धिदर ८ वर्षयताकै न्यून हुने प्रक्ष्यपण विभागले गरेको हो । यसअघिको सामान्य अवस्थामा यो वर्ष जीडीपी ४ दशमलव ५८ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो ।

भुकम्पका कारण स्वास्थ्य क्षेत्रबाहेक सबै क्षेत्रको जीडीपी यसअघि अनुमान गरिएभन्दा कम हुने विभागले बताएको छ । विभागले हालै मात्र राष्ट्रिय लेखा सम्बन्धी समष्टिगत आर्थिक सूचकहरूको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो बताएको हो ।
विभागले भुकम्पका कारण कृषि क्षेत्रको बृद्धिदरमा ज्यादै ठूलो असर नपारे पनि गैरकृषि क्षेत्रको उत्पादन बृद्धि उच्च दरले घट्ने अनुमान गरेको छ । ५ दशमलव ६६ प्रतिशत बढ्ने अनुमान गरीएको यस क्षेत्रको बृद्धिदर ३ दशमलव ५८ प्रतिशतमा झर्ने संशोधित प्रक्षपण गरिएको छ । यो सन् २००५ यताकै न्यून बृद्धि हो । विभागले चालू आवमा आधारभूत मुल्यमा ३१ खर्ब ४६ अर्ब रुपैयाँ बरावरको वस्तु तथा सेवाको उत्पादन हुने अनुमान गरेकोमा भूकम्पपछि ३० खर्ब ९५ अर्ब बरावरको मात्रै वस्तु तथा सेवाको उत्पादन हुने संशोधित अनुमान गरेको छ । यसरी भूकम्पका कारण आधारभूत मूल्यमा करिव ५१ अर्ब रुपैयाँ बरावरको वस्तु तथा सेवाको उत्पादनमा कमी हुने अनुमान विभागको छ ।

GDP-Agriculture

कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको बृद्धिदर २ दशमलव २७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेकोमा भूकम्पपछिको अवस्थामा घटेर १ दशमलव ८५ प्रतिशत मात्रै हुने विभागले बताएको छ । निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानीको क्षेत्रगत उत्पादन ४ दशमलव ५८ प्रतिशत हुने सुरुको अनुमान रहे पनि अहिले २ दशमलव ६५ प्रतिशतमात्रै बढ्ने देखिएको विभागको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, तृतीयक क्षेत्र भनिने थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात संचार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रको बृद्धिदर पनि पहिले अनुमान गरिएको ५ दशमलव ९८ प्रतिशतबाट घटाएर ३ दशमलव ८६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

खासगरी भूकम्पबाट मृत्यु भएका पशुपक्षीका कारण दूध तथा मासु उत्पादनमा हुने ह्रास एवं भूकम्पबाट अति प्रभावित जिल्लाहरूमा आलु, जौ र गहँुको उत्पादनमा आउने न्यून ह्रासका कारण कृषि तथा वन क्षेत्रको बृद्धिदर घट्ने अनुमान गरिएको विभागले बताएको छ । मत्स्य उत्पादनमा भुकम्पले खासै असर नपारे पनि अतिप्रभावित जिल्लाहरूमा ढुङ्गा, गिटी, बालुवा र माटोको उत्खनन्मा निकै ह्रास आएपछि खानी तथा उत्खनन क्षेत्रको बृद्धिदर पनि खस्कने अनुमान गरिएको छ । त्यस्तै, भूकम्पपछि भौतिक क्षति र कर्मचारी अभावका कारण उद्योगहरु संचालनमा नै आउन नसकेका कारण उद्योग क्षेत्रको बृद्धिदर न्यून हुने बताइएको छ ।

gdp-n

जलविद्युत केन्द्रमा भौतिक क्षति भएतापनि उत्पादनमा कुनै असर नपरेको, ग्यास तथा पानीको उत्पादनमा समेत उल्लेख्य असर नपरेको विभागको निष्कर्ष छ । तर, भूकम्पपछि नेपाल सरकारले भवन निर्माणमा रोक लगाएका कारण निर्माण समाग्रीको आपूर्तिमा उल्लेखनिय ह्रासआएको र जस्तापाता वाहेक सबै निर्माण सामग्रीको उत्पादनमा समेत कमी आएको कारण निर्माण क्षेत्रको गार्हस्थ उत्पादन घट्ने बताइएको छ । भूकम्पपछि कृषिक्षेत्रको उत्पादनमा आएको ह्रास, व्यापारयोग्य वस्तुको आयातमा भएको कमी र औद्योगिक उत्पादनको संकुचनले थोक तथा खुद्रा व्यापारको बृद्धि पनि कमजोर भएको छ ।

भूकम्पपछि अतिप्रभावित क्षेत्रमा पर्यटन सेवा, निर्माण तथा कृषि क्षेत्रमा भएको बैंकिङ लगानीमा ऋणबाट प्राप्त हुने व्याज आम्दानीमा पर्न सक्ने असरको साथै बीमाङ्कन दाबीमा भएको बढोत्तरीले वित्तीय मध्येस्थता क्षेत्रको बृद्धिदर पनि खुम्चिने देखिएको विभागले बताएको छ । त्यस्तै भूकम्पपछि घर जग्गाको कारोवार आएको कमी, पूर्ण क्षति भएका घरहरूबाट प्राप्त हुने आवासीय सेवामा भएको कटौती र व्यावसायिक कारोवारमा आएको कमीले रियल स्टेट क्षेत्रको बृद्धिदर पनि १ प्रतिशततभन्दा तल झर्ने अनुमान गरिएको छ । पर्यटकको आगमनमा भएको कमी, होटल तथा रेष्टुरेन्टमा भएको भौतिक क्षति तथा आन्तरिक पर्यटनमा आएको ह्रास, स्थल यातायात तथा हवाई यातायातमा भएको मन्दीजस्ता कारणले पनि जीडीपीको बृद्धिदरलाई प्रभावित पारेको विभागको निष्कर्ष छ । तर, स्वस्थ्य क्षेत्रको बृद्धिदर भने दोहोरो अङ्कमा पुग्ने अनुमान छ । भुकम्पका कारण स्वास्थ्य सेवामा बढेको कारोबारले त्यस क्षेत्रको बृद्धिदर १० दशमलव शुन्य ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL