Logo

चम्कियो मुक्त कमैयाको गाउँ, अस्ट्रिच पर्यटनले फस्टाउँदै होमस्टे

चम्कियो मुक्त कमैयाको गाउँ, अस्ट्रिच पर्यटनले फस्टाउँदै होमस्टे



काठमाडौं । बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न १ सय रुपैयाँको टिकट काट्नुपर्छ । टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ । यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल सुरु भएको छ ।

गाउँमा अहिले दैनिक २० देखि २५ जना आन्तरिक पर्यटक आउँछन् । खप्तड उद्यम व्यापार केन्द्र (अस्ट्रिच फार्म) का व्यवस्थापक मनिराज जोशीका अनुसार फार्म हेर्न आउनेको घुइँचो लाग्न थालेपछि घरबास (होमस्टे) को व्यापारमा समेत सुधार आएको छ । ५ बिघा क्षेत्रफल २० वर्षका लागि भाडामा लिएर फार्म सञ्चालन गरिएको छ ।

अस्ट्रिच फार्ममा घुमेर निस्किने पर्यटकहरु खानपान र आरामका लागि बाँसले बेरेर निर्माण गरिएका होमस्टेमा पुग्छन् । मौलिक थारू परिकार खान्छन, आराम गर्छन् । ‘नमूना थारू होमस्टेमा आउने पर्यटकले अस्ट्रिच अवलोकन र थारू परिकारको स्वाद पाइरहेका छन’, होमस्टे सञ्चालक बाबुराम चौधरीले भने ।

अस्ट्रिचको मासु खानेदेखि हेर्न र अध्ययन गर्न विद्यार्थी आउने गरेको जोशीले बताए । एउटा अस्ट्रिचबाट ८० देखि एक क्विन्टलसम्म मासु उत्पादन हुन्छ । प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री गर्दै आएका उनले व्यापार राम्रोसँग फस्टाएको बताए ।

फार्ममा सुरुमा १५० अस्ट्रिच थिए । अहिले बिक्री भएर २० ओटा छन् । चाडपर्व र हिउँदका महीनामा पर्यटकको चाप बढी हुने गर्छ । यतिबेला आन्तरिक पर्यटककै भरमा फार्म र होमस्टे धानिएको जोशीले बताए । सुनसान ठाउँमा अस्ट्रिच पाल्न थालेपछि होमस्टेको सम्भावना देखेर चौधरीले पनि होमस्टे सञ्चालन गरेको बताए ।

होमस्टे सुरु गरेपछि चौधरी सुरुमा हाँसोका पात्र बनेका थिए । उनको व्यापार जम्दै गएपछि छिमेकी बुजौना थारू, बालकृष्ण थारू, बुजावन चौधरीले समेत होमस्टे सञ्चालन सुरु गरेका छन । ‘अब मुक्त कमैयाको गाउँ चम्कियो’, होमस्टे सञ्चालक चौधरीले भने, ‘चहलपहल र होमस्टेको रौनक बढेपछि नयाँ होमस्टे थपिँदैछन् ।’

मेघराज चौधरीले अलपत्र जमीनमा टावरसहितको आधुनिक होमस्टे निर्माण सुरु गरेका छन । साथी गगन चौधरीको साझेदारीमा झन्डै ६० लाख रुपैयाँ लगानी गरेका छन । बाँके निकुञ्ज नजिकै रहेका होमस्टेमा नजिकैबाट वन्यजन्तुको समेत अवलोकन गर्न पाइन्छ/रासस

प्रतिक्रिया दिनुहोस्