काठमाडौं । यातायात क्षेत्रमा देखिएको बिकृतिलाई सुधार गर्दै चर्चामा आएका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई शम्पती शुद्धिकरण अनुसन्धान विभागको जिम्मा लगाईएको छ ।
यातायात क्षेत्रमा सुधार गर्दा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको स्वार्थ अनुरुप काम नगर्दा हटाइएका भट्टराईलाई सम्पती शुद्धिकरण अनुसन्धान विभागमा महानिर्देशक बनाइएको छ ।
सरकारले देशमा कालोधन (स्रोत नखुलेको रकम) भित्रन नदिन तथा त्यसरी भित्रिएको भएका छानविन गरी कानुनी दायरामा ल्याउन मुख्य भुमिका निर्वाह गर्ने महत्वपूर्ण विभागको जिम्मा उनलाई दिएको छ । सम्पती शुद्धिकरण विभागको जिम्मेवारी पाएसँगै सो क्षेत्रको अध्ययन गरी हाल भइरहेका विकृति र गैर कानूनी क्रियाकलाप रोक्नलाई कुनै कसुर बाँकी नराख्ने उनले जानकारी दिए । ‘मैले यस अघि पनि यातायात व्यवस्था विभागमा रहँदा पहिला समान्य सुधार गर्दै करिब ६ महिनाजति अध्ययन गरेर त्यस क्षेत्रमा भएका विकृति हटाउन कदम चालेको थिए,’ उनले बिजखबरसँग भने, ‘यहाँ पनि हिजो मात्रै पदबहाली भएको छु केही समय अध्ययन गरेर अघि बढ्नेछु ।’
भट्टराईले यातायात व्यवस्था भिवागमा हुँदा सो क्षेत्रको सिण्डिकेट हटाउनुका साथै विभिन्न यातायात समितिको एकाधिकार तोड्न सफल भएका थिए । यसैगरी विभिन्न समितिमार्फत चल्दै आएका सवारीसाधनहरुलाई कम्पनीमा दर्ता गराई करको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । यातायात क्षेत्र सुधारको गुरु योजनानै सार्वजनिक गरेर कामलाई अघि बढाउन लागेका भट्टराईको सरुवा भएसँगै हालसम्म ल्याउन सकिएको छैन ।