Logo

सात महिनामा साढे ४ खर्वको आयात, व्यापार घाटा ३ खर्व ९४ अर्व

सात महिनामा साढे ४ खर्वको आयात, व्यापार घाटा ३ खर्व ९४ अर्व


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ चैत, काठमाडौं । आर्थिक बर्ष २०७१/७२ को ७ महिनामा  ४ खर्व ४४ अर्व ७७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सो अवधिको तुलनामा १३ दशमलव ३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३ सय ९२ अर्व ६९ करोड रुपैयाँको आयात भएको थियो ।

तर अघिल्लो आवको तुलनामा आयात बृद्धिद्धर भने घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रास तथा रासायनिक मल,कोइला,एमएस वायर रड,सुन, कच्चा भटमासको तेललगायतको आयात घटेको कारण समग्र आयातको बृद्धिद्धर कम भएको छ ।

कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले बढेको छ । भारतबाट विशेषगरी यातायातको साधन तथा पाटपुर्जा, चामल,औषधीलगायतको आयात बढेको छ ।

त्यस्तै सो अवधिमा चीनबाट भएको आयात उच्च दरले बढेको छ । चीनबाट भएको आयात ५० दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । चीनबाट विशेषगरी मेशिनरी तथा पाटपूर्जा, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, रासायनिक मल, मेडिकलका उपकरण तथा पाटपूर्जालगायत वस्तुहरुको आयात बढेकोले सो मुलुकबाट भएको आयात उच्च दरले बढेको हो ।

त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ३ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट विशेषगरी चाँदी, हवाइजहाजका पाटपूर्जा, खाने तेल, कच्चा पाम तेल जस्ता वस्तुहरुको आयात बढेकोले समग्र आयातमा बृद्धि भएको हो ।

सो अवधिमा नेपालबाट हुने निर्यात ५ दशमलव १ प्रतिशतले घटेर ५० अर्व १९ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो निर्यात १७ दशमलव ६ प्रतिशतले बढी ५२ अर्व ८९ करोड रुपैयाँ पुगेको थियो । चालु आवको माघ महिनामा पुसको तुलनामा निर्यात ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

अलैंची, जिङ्क शीट, जुटका सामान, लत्ताकपडालगायत वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो । चीनतर्फको निर्यात भने अघिल्लो वर्षको सोही अवधिमा १२.१ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा १३.७ प्रतिशतले बढेको छ । प्रशोधित छाला, हस्तकलाका सामान, नुडल्स, तयारी पोशाकलगायतको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात बढेको हो ।

त्यस्तै, अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ११ दशमलव २ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा २ दशमलव ५ प्रतिशतले बढेको छ । विशेषतः तयारी पोशाक, पस्मिना, चिया, तयारी छालाका सामान लगायतका वस्तुहरुको निर्यात बढेको कारण समीक्षा अवधिमा अन्य मुलुकतर्फको निर्यात बढेको हो ।

सो अवधिमा नेपालको कुल वस्तु व्यापार घाटा १६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाट बढेर ३ खर्व ९४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५ दशमलव ३ प्रतिशतले बढेको थियो । कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १० दशमलव ७ प्रतिशत, ५१ दशमलव५ प्रतिशत र १३ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः २६ दशमलव० प्रतिशत, ११ दशमलव १ प्रतिशत र ३२ दशमलव १ प्रतिशतले बढेको थियो ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL