काठमाडौं । दुई सचिवको दरबन्दी रहेको अर्थ मन्त्रालयमा सरकारले तत्कालका लागि एक सचिवमै काम चलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा राजस्व सचिव दिनेश घिमिरेसहित चार जना सचिवको सरुवा गरेको हो। घिमिरेलाई राजस्व सचिवबाट हटाएर प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा पठाएपछि अब अर्थमा एकजना मात्रै सचिव रहने भएका छन् ।
अर्थ मन्त्रालयमा परम्परागत रूपमा अर्थसचिवसँगै राजस्व सचिव अलग्गै रहने अभ्यास थियो। तर, अहिले अर्को सचिव आवश्यक नरहेको भन्दै तत्कालका लागि एकै जना सचिव रहने निर्णय गरिएको हो। हाल अर्थसचिवको जिम्मेवारी घनश्याम उपाध्यायले सम्हालिरहेका छन्।
यसैगरी, अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयमा सचिव शोभाकान्त पौडेल कार्यरत छन्। त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख महेश बराललाई तालिम केन्द्रमा सरुवा गरिएको छ।