Logo

जेन–जी आन्दोलनमा एमालेका १४९ बढी नेता–कार्यकर्ताको घरमा आक्रमण, निशानामा वडाध्यक्षदेखि केन्द्रिय अध्यक्षसम्म

जेन–जी आन्दोलनमा एमालेका १४९ बढी नेता–कार्यकर्ताको घरमा आक्रमण, निशानामा वडाध्यक्षदेखि केन्द्रिय अध्यक्षसम्म



काठमाडौं । जेन–जी आन्दोलनका क्रममा देशभरमा नेकपा (एमाले)का १४९ जना नेता र कार्यकर्ताको घरमा आगजनी, तोडफोड र लुटपाट भएको छ।

एमाले केन्द्रीय कार्यालयले संकलन गरेको विवरणअनुसार वडाध्यक्षदेखि केन्द्रीय अध्यक्षसम्मका नेताहरू यस आक्रमणको निशाना बनेका हुन्।

आक्रमणबाट अध्यक्ष केपी शर्मा ओलीका तीनवटै घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ओलीको जन्मघर तेह्रथुम, हुर्केको झापा र हाल बसोबास गर्दै आएको भक्तपुर बालकोटका घरसमेतमा आगजनी भएको छ।

त्यस्तै, महासचिव शंकर पोखरेलका काठमाडौं र दाङका दुवै घरमा क्षति पुगेको छ भने सचिव रघुवीर महासेठका काठमाडौं र धनुषाका घरहरू पनि जलेका छन्।

एमालेका केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीका अनुसार देशभरका नेता–कार्यकर्ता र जनप्रतिनिधिका व्यक्तिगत सम्पत्तिलाई लक्षित गरेर आक्रमण, तोडफोड, आगजनी र लुटपाट भएको छ।

पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’ र सचिव छविलाल विश्वकर्मा तथा पद्मा अर्याल बाहेकका सबै नेताका घरमा क्षति पुगेको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्