काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५ सय ७२ कैदी बन्दी फरार छन् ।
पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । कैदी बन्दीहरू दैनिक जसो कारागारमा आइरहेका उनको भनाइ छ ।
गत भदौ २४ गते जेन जेडद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदी बन्दी भागेका थिए । भागेका कैदी बन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदी बन्दी भने नभागी बसेका थिए ।
फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ । ती कैदी बन्दीहरू २८ वटा कारागार र नौ वटा सुधार गृहबाट भागेका थिए । कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन् । बाल सुधार गृहबाट नौ सय ६३ जना भागेका थिए । प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ । दश जना कैदी बन्दीको भने मृत्यु भएको छ ।