Logo

चम्किदै कोरला नाका : एक सातामै २ सय बढी विद्युतीय सवारी आयात, साढे ३४ करोड राजस्व संकलन

चम्किदै कोरला नाका : एक सातामै २ सय बढी विद्युतीय सवारी आयात, साढे ३४ करोड राजस्व संकलन



काठमाडौं । नेपाल–चीनबीचको वैकल्पिक व्यापारिक नाका कोरलाले छोटो समयमै उत्साहजनक सुरुवात गरेको छ । रसुवागढी र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि मुस्ताङ जिल्लास्थित कोरला नाकाबाट दसैं लक्षित सामग्रीसहित ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात भइरहेका छन् ।

विस २०८२ भाद्र ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो नाकाबाट असोज ४ सम्ममा अर्थात पछिल्लो ६ दिनमा २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनहरू जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ । ्

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार २०८२ असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको विनाशकारी बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका बन्द छ । त्यस बाढीले दर्जनौं मानिस बेपत्ता भएका थिए भने सयौं सवारी साधनहरू नष्ट भएका थिए । रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भएको थियो । त्यसैगरी, तातोपानी भन्सारतर्फ कोदारी राजमार्गमा भारी वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध बनेको छ ।

कोदारी क्षेत्रको ‘इको’ खण्डमा मात्र ३५ मिटर सडक भत्किएपछि नायलाममा एक हजार पाँच सयभन्दा बढी ट्रक र चार सय कन्टेनरहरू अलपत्र छन् । यी दुवै नाका अवरुद्ध हुँदा नेपालको उत्तरी व्यापार ठप्प बनेको थियो । दसैं नजिकिँदै गर्दा औद्योगिक कच्चा पदार्थ र उपभोक्ता वस्तुहरूको अभावले उद्योगी तथा व्यापारीहरू चिन्तित थिए । यस अवस्थामा मित्रराष्ट्र चीनसँगको सहकार्यमा कोरला नाकालाई वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

मुस्ताङ भन्सार कार्यालय न्हेचुङ (कोरला नाका) ले भदौ ३० गतेदेखि व्यापारिक गतिविधि सुरु गरेको हो । यो नाका मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नेचुङबाट सञ्चालन हुन्छ । असोज ४ सम्ममा जाँचपास भएका २०९ विद्युतीय गाडीहरूमा मुख्य रूपमा चिनियाँ कम्पनीहरू बीवाईडी, जेइको र ओमोडाका मोडलहरू छन् । जेइको जे फाइभ र जे सिक्स जस्ता लोकप्रिय विद्युतीय कारहरू यस नाकाबाट पहिलोपटक ठूलो संख्यामा भित्रिएका छन् ।

यसबाहेक, १०७ मालबाहक ढुवानी साधनहरूमा दसैंका लागि लत्ता कपडा, इलेक्ट्रोनिक्स सामग्री, कस्मेटिक्स र अन्य उपभोक्ता वस्तुहरू छन् । यी सामानहरूको जाँचपासबाटै ३४ करोडभन्दा बढी राजस्व संकलन भएको मुस्ताङ भन्सार प्रमुख रमेश खड्काले बताए ।

‘कोरला नाकाको सञ्चालनले हामीलाई ठूलो राहत दिएको छ । चार दिनमै २०० बढी विद्युतीय सवारी र सयौं कन्टेनरहरू जाँचपास भएका छन् । यो राजस्वले सरकारको खातामा योगदान दिँदै व्यापारलाई गति दिएको छ,’ खड्काले भने, ‘चिनियाँ पक्षसँगको समन्वयमा आशिकुडा प्रणाली पनि सञ्चालनमा छ । यसले व्यापारलाई थप सहज बनाएको छ ।’ नेपाल राष्ट्र बैंकको मिति २०८२ भाद्र ३१ को परिपत्रअनुसार मुस्ताङ भन्सारलाई चिनियाँ भूभागबाट प्रतितपत्रमार्फत सामान आयातका लागि एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ । यसले आयात प्रक्रियालाई सरल बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्