काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमार्फत हालै सेनासम्बन्धी फैलाइएका हल्ला र भ्रामक प्रचारप्रति आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
शुक्रबार बिहान जारी गरिएको विज्ञप्तिमा सेनाले स्पष्ट पारेको छ कि विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सार्वजनिक भइरहेका छन् तर सेनाले आफ्ना गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत मात्र सम्प्रेषण गर्दै आएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगरी आधिकारिक माध्यमबाट प्रकाशित सूचनामात्रै ग्रहण गर्न सर्वसाधारणलाई अनुरोध गर्दछौं।
बिहीबार साँझदेखि रातिसम्म सामाजिक सञ्जालमा सेनाको गतिविधि र भूमिकाबारे अनेकौं हल्ला फैलिएको थियो। ती हल्लाहरूको खण्डन गर्दै सेनाले सूचना आदान–प्रदानलाई सहज बनाउन पृतना हेडक्वार्टरहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको र सम्पर्क नम्बरहरू समेत सार्वजनिक गरिएको जनाएको छ।