काठमाडौं । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।
उनका अनुसार अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ । “यसले एउटा ‘रेकर्डेट’ पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यताका आधारमा सुरक्षा टोली परिचालन भएको छ”, प्रजिअ रिजालले भने ।
अहिले काठमाडौँको माइतीघरमा जेनजी प्रदर्शनको जानकारी आएको बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध रहेको बताए ।
प्रवक्ता खनालले भने, “हामीले सुरक्षा योजना बनाएर नै परिचालन गरेका छौँ, सबै लाग्ने डिउटी खटाइसकेका छौँ, कमान्ड पोष्ट परिचालन भइसकेको छ ।” सामाजिक सञ्जालमा लगाइएको रोकलगायत विरुद्ध भन्दै जेनजी पुस्ताले आज उपत्यकामा प्रदर्शन गर्ने कार्यक्रम रहेको भनेर प्रचार भएपछि उपत्यकामा सुरक्षा निगरानी बढाइएको हो ।