काठमाडौँ । सरकारले इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सबैलाई सुसूचित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा इसेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको छ ।
विभागद्वारा बुधबार जारी विज्ञप्तिमा इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाइदिने भन्दै गैरकानुनी रुपमा प्रचारगरी रकम असुली भइरहेकोतर्फ विभागको ध्यानाकर्षण भएको जनाइएको छ ।
विभागका अनुसार मन्त्रालयबाट गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ । तर विभागबाट हालसम्म आधिकारिक रुपमा इसेभेन भिसामा पठाउने प्रक्रियास्वरुप कुनै संस्थालाई पूर्वस्वीकृति दिन सुरु भएको छैन ।
कोरियास्थित नेपाली राजदूतावासबाट यसप्रकारको भिसाका लागि कार्यविधिअनुसार प्रक्रिया पूरा गरी मागपत्र प्रमाणीकरणका लागि कुनै आवेदन नआएको बताइएको छ ।
“कुनै पनि व्यक्ति/संस्थाले सामाजिक सञ्जाललगायत अनाधिकृत तवरले इसेभेन भिसामा दक्षिण कोरिया पठाउँछु भनी रकम माग गरेमा वा आश्वासन दिएमा त्यसप्रकारको प्रलोभनमा परी अनाधिकृत व्यक्ति÷संस्थालाई रकम बुझाउने काम नगर्नु÷नगराउनु हुन अनुरोध छ”, विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।