Logo

मौसमअनुसार परिवर्तन हुने ‘छ्यो थाङ्गी छ्यो’ पोखरी

मौसमअनुसार परिवर्तन हुने ‘छ्यो थाङ्गी छ्यो’ पोखरी



काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको हो ।

यो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ । स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ । कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको छ । पछिल्लो समय यो क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटक आउन थालेका यस क्षेत्रमा पथप्रदर्शक गर्ने पान्दे शेर्पाले जानकारी दिए ।

यहाँ घुम्न आउने पर्यटक पूर्वको मुस्ताङ उपनाम दिने गरेको उनले बताए । यस क्षेत्रमा पर्यटकलाई राम्रो सेवा सुविधा दिन सके धरै पर्यटक प्राकृतिक सुन्दरतामा घुम्न आउने संख्या बढ्दै गएको उनले जानकारी दिए । तर अहिले यहाँ आउने पर्यटकले सेवा सुविधा नभए पनि घुम्न आउने क्रम बढ्दै गएको जनाइएको छ ।

स्थानीयवासी वाङ्गे शेर्पा थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायको भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ । तर पछिल्लो समय यहाँका धेरै पोखरीको मौलिक नामभन्दा अन्य नामबाट प्रचार हुँदै गएको भन्दै यहाँका पोखरीको आफ्नै मौलिक नामबाट प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानीय थोक्प्याहरूको भनाइ छ ।

यो पोखरी क्षेत्रमा घुम्न आउने पर्यटक पोखरीको अवलोकनसँगै प्राकृतिक सुन्दरताको आनन्द लिनसक्ने लोदेन क्षेत्रमा विगतदेखि जडीबुटी संकलन गर्दै आएका व्यवसायी मिक्वाखोला– ४ साँवा गाउँका मिलन लिम्बूले बताए ।

एक दिनमा सदरमुकाम फुङ्लिङबाट यातायातका साधन प्रयोग गरेर सिम्बुक पुग्न सकिन्छ । त्यसपछि पदमार्ग प्रयोग गरेर छिटो हिँड्नेहरू एक दिन र अलि विस्तारै हिँड्ने पर्यटक दुई दिनमा लोदेन क्षेत्र पुग्न सक्छन् । पर्यटक लोदेनमा रहेका पोखरीको अवलोकन गरेर तोक्पेगोला हुँदै फर्कन चाहने लिम्बूले बताए । तर लोदेन हुँदै तोक्पेगोला जान त्यति सहज बाटो नभएको लिम्बूले बताए ।

पाँच हजार ५०० मिटर उचाइ अवस्थित डाँडा पास गरेर जानुपर्ने भएकाले लेक लाग्ने साथै बाटो निर्माण नभएकाले स्थानीयको सहायता चाहिने गरेको लिम्बूले बताए । उच्च हिमाली क्षेत्रमा भएकाले बाह्रै महिना हिउँ जमेर रहेकाले बाटो चिप्लो हुने जोखिम रहेको लिम्बूले बताए ।

विगतमा यहाँका तस्विर, सामान्य भिडियो सामाजिक सञ्जालमार्फत केही प्रचारको काम भएको मिक्वाखोला गाउँपालिका– ५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । शेर्पाका अनुसार यस क्षेत्रमा एक सयको हाराहारीमा पोखरी छन् । तर यस पोखरीको वैज्ञानिक अनुसन्धन हुन बाँकी रहेको शेर्पाले बताए । शेर्पाका अनुसार वडाको समन्वयमा यहाँका पोखरी तथा तालको वैज्ञानिक अध्ययन गर्ने योजना छ । पोखरी तथा तालसम्बन्धी विज्ञको टोलीमार्फत पोखरीको गहिराइ, लम्बाइ तथा चौडाइ र जिपीएस मापनजस्ता काम गर्ने योजना छ ।

यस क्षेत्रमा रहेका पोखरीको संरक्षणका काम खासै केही नभएको साथै यस विषयमा गाउँपालिकाको नजर नपुगेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पा जानकारी दिए । मानवले क्षति नपुर्‍याएसम्म यहाँका पोखरी आफैमा संरक्षित रहने उनले बताए । उपाध्यक्ष शेर्पाका अनुसार पोखरी क्षेत्रको प्रचारप्रसारका काम भइरहेको छ । पदमार्ग निर्माण तथा पर्यटकका लागि पाटीपौवा निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्