काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ), आतंककारी गतिविधि तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी रोकथामका लागि नयाँ निर्देशन जारी गरेको छ । बीमा कम्पनीको शंकास्पद कारोबार वा शंकास्पद गतिविधिमाथि निग्रानी राख्न उक्त निर्देशिका जारी गरिएको हो ।
‘सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२’ नामक निर्देशिका भदौ ४ मा बीमा प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भएको हो । उक्त निर्देशिका बमोजिम बीमा कम्पनीले शंकास्पद कारोबार वा शंकास्पद गतिविधि प्रतिवेदन तत्काल वित्तीय जानकारी इकाइमा बुझाउनुपर्नेछ । ठूलो रकमका बीमा कारोबार, दाबी भुक्तानी वा प्रिमियम भुक्तानीजस्ता लेनदेनमा विशेष ध्यान दिनुपर्ने व्यवस्था पनि निर्देशिकामा छ ।
निर्देशनअनुसार एक वर्षमा तीन लाख रुपैयाँ वा सोभन्दा बढी रकम बीमाशुल्क तिर्नु पर्ने गरी निर्जीवन बीमालेख खरिद गरेमा गो–एएमएल सिस्सटमा प्रविष्टी गर्नुपर्नेछ । एक वर्षमा एक लाख रुपियाँ वा सोभन्दा बढी रकम बीमाशुल्क तिर्नु पर्ने गरी जीवन बीमालेख खरिद गरेमा पनि यो नियम लागू हुनेछ ।
साथै, जीवन बीमा गर्ने बीमितले बीमालेख धितोमा बीमालेखको शर्त अन्तर्गत एक करोड रुपैयाँ वा सो भन्दा बढी रकम ऋण लिएमा पनि गो–एएमएल सिस्सटमा प्रविष्टी गर्नुपर्नेछ । त्यस्तै, जीवन बीमा अन्तर्गत प्रति ग्राहक जुन सुकै प्रकारको दाबी भुक्तानी रकम एक करोड रुपैयाँ वा सो भन्दा बढी भएमा पनि गो–एएमएल सिस्सटमा प्रविष्टी गनुपर्ने निर्देशनमा उल्लेख छ ।
निर्देशनले बीमा क्षेत्रमार्फत हुन सक्ने अवैध गतिविधिलाई रोक्न ग्राहक पहिचानदेखि लिएर शंकास्पद कारोबार प्रतिवेदनसम्मका विषयलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ । यो निर्देशिका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतदेखि मातहतका कर्मचारी, बीमा मध्यस्थकर्ता तथा तेस्रो पक्ष सहजकर्तासम्म सबैले यो निर्देशन पालना गर्नुपर्ने बीमा प्राधिकरणले जनाएको छ ।