Logo

उदयपुरमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण, ४५० विद्यार्थी लाभान्वित

उदयपुरमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण, ४५० विद्यार्थी लाभान्वित



काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । उक्त अभियानमार्फत ४५० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

शिक्षा क्षेत्रलाई सबल बनाउनको उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीलाई कापी, कलम, झोला, पेन, ज्यामितिक बक्स जस्ता व्यक्तिगत शैक्षिक सामग्री प्रदान गरिएको छ भने विद्यालयलाई डस्टबिन, वाटर फिल्टर, जग तथा पाठ्यपुस्तक लगायतका आवश्यक सामग्री सहयोग गरिएको हो।

शैक्षिक सहयोग पाउने विद्यालयहरूमा श्री रुपैरानी आधारभूत विद्यालय–आहाले, जनता आवासीय विद्यालय–थलियाटार, वीरेन्द्र आवासीय विद्यालय–भन्टाबारी, र श्री आधारभूत विद्यालय–बबेला रहेका छन्। यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयको उद्घाटन कार्यक्रमका अवसरमा शैक्षिक सामग्री वितरण गरेको थियो।

वितरण कार्यक्रम विद्यालयका प्राचार्य, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा शौर्य सिमेन्टको खानी र ब्राण्ड टिमको उपस्थितिमा सम्पन्न भएको थियो। साथै, कटारी नगरपालिका–८ का वडा अध्यक्ष नविन्द्र कुमार तामाङको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। विद्यालयहरूले प्राप्त सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरणमा थप सुदृढता आउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा शौर्य सिमेन्टका प्रतिनिधिले शिक्षा नै दिगो विकासको आधार भएकाले शैक्षिक सामग्रीमार्फत विद्यार्थीलाई अझ राम्रोसँग पढ्न र भविष्य निर्माणमा प्रेरणा दिने उद्देश्य रहेको बताए। कम्पनीले शिक्षा, स्वास्थ्य, संस्कृति र सामुदायिक विकासमा निरन्तर सामाजिक उत्तरदायित्व गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्