काठमाडौं । इरानको संसद्ले आइतबार राष्ट्रिय मुद्रा रियालबाट चार शून्य हटाउने ऐतिहासिक योजनालाई स्वीकृति प्रदान गरेको छ । यो निर्णय देशले नयाँ अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गर्दै मुद्राको तीव्र अवमूल्यन भोगिरहेको समयमा आएको हो ।
संसदीय आर्थिक आयोगले लेनदेनलाई सरल र व्यावहारिक बनाउन लामो समयदेखि रोकिएको प्रस्तावलाई पुनर्जीवित गरेको दुई महिनापछि सांसदहरूले यो विधेयक पारित गरेको विधायिकाको वेबसाइटमा जनाइएको छ ।
योजनाअनुसार हालको १० हजार रियाल बराबर एक नयाँ रियाल हुनेछ । दुवै पुराना र नयाँ नोटहरू तीन वर्षसम्म चलनमा रहनेछन् र केन्द्रीय बैंकलाई रूपान्तरण प्रक्रिया सुरु गर्न दुई वर्षको समय दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू पुनः लागू भइरहेका बेला इरानी रियालले पछिल्ला दिनहरूमा बारम्बार रेकर्ड स्तरमा गिरावट भोगेको छ । सन् २०१५ को आणविक सम्झौतामा सहभागी बेलायत, फ्रान्स र जर्मनीले गत महिना इरानको गैर–अनुपालन जनाउँदै ‘स्न्यापब्याक’ संयन्त्र प्रयोग गरी अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनःस्थापित गरेका थिए ।
आइतबारको कारोबारमा रियाल अमेरिकी एक डलरको तुलनामा करिब ११ लाख १५ हजारमा झरेको थियो । जबकि गत अगस्टमा योजना पुनर्जीवित हुँदा यो दर करिब नौ लाख २० हजारमा थियो ।
रियालको पुनःनामाङ्कनको प्रस्ताव पहिलो पटक सन् २०१९ मा गरिएको थियो तर त्यसबेला स्थगित गरिएको थियो । यस योजनालाई लागू गर्न अझै पनि गार्डियन काउन्सिलको स्वीकृति र राष्ट्रपति मसुद पेजेस्कियानको हस्ताक्षर आवश्यक छ । दैनिक जीवनमा इरानीहरूले प्रायः रियालबाट शून्य घटाएर टोमान भन्ने शब्द प्रयोग गर्छन्, जसले सानो अङ्कमा कारोबार गर्न सहज बनाउँछ ।