Logo

१०६ मेवाको जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर

१०६ मेवाको जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर



काठमाडौं । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ ।

बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवद्र्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

कूल १०६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए लगत्तै मार्ग प्रशस्त भएको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । उनले जगदुल्ला हाइड्रोपावर र जेसीई/एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी दिए ।

प्रवद्र्धक कम्पनी र जेसीई/एएनके जेभीबीच रु १२ अर्ब १८ करोड बराबरको निर्माण सम्झौता भएको उहाँले उल्लेख गर्नुभयो । प्रवद्र्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन ।
दोस्रो पटकको सूचनामा दुई कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीई/एएनके जेभी योग्य भएको हो ।

यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो । सो आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको थियो ।
सम्भौताअनुसार, नबिल बैंकले रु चार अर्ब ४० करोड लगानी गर्ने भएको छ । यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) , कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्ने छन् ।

आयोजनामा एचआइडीसीएल र कर्मचारी सञ्चय कोषले समान रु चार÷चार अर्ब लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले रु दुई अर्ब र एभरेष्ट बैंकले रु एक अर्ब ५० करोड बराबर लगानी गर्नेछ । आयोजना निर्माणका लागि रु २३ अर्ब बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब ऋण र रु सात अर्ब भने स्वपूँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए।

निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ ।
नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला नेपालको पानी जनताको लगानी भन्ने मूल नाराका साथ स्थापना भएको हो । आयोजना स्थल नेपालगञ्जबाट २३८ किलोमिटर टाढा रहेको छ ।
आयोजनाको बाँधस्थल जगदुल्ला गाउँपालिकाको हुरीकोटमा पर्दछ । जहाँ २३ मिटर अग्लो र ३८ मिटर लामो ब्यारेजको प्रस्ताव गरिएको छ । आयोजनाको क्याचमेन्ट एरिया छ सय ३३ दशमलव ८३ वर्ग किलोमिटर रहेको छ ।

यस आयोजनाको विद्युत् गृह मुड्केचुला गाउँपालिकाको इल ४ मा भूमिगत रहनेगरी डिजाइन गरिएको छ । जसको लम्बाई ७७ दशमलव ८० मिटर, चौडाई १४ मिटर, मोटाई ३३ दशमलव ४५ मिटर रहनेछ । त्यहाँ ३५ दशमलव पाँच मेगावाट क्षमताको तीन वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन रहनेछ ।

विद्युत् उत्पादन गरिसकेपछि पानीलाई तीन सय ३० मिटर लामो पाँच मिटर चौडाई र पाँच मिटर अग्लो टेलरेसमार्फत पुनः जगदुल्ला नदीमा नै पठाइनेछ । उत्पादित विद्युत्लाई एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रस्तावित बाफीकोट सवस्टेशनमा जोड्ने गरी डिजाइन गरिएको छ ।

कम्पनीले आयोजना सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन गर्नेछ । कम्पनीको अधिकृत पुँजी रु आठ अर्ब रहेको छ भने कम्पनीको तत्काल जारी पुँजी रु सात अर्ब १० करोड छ ।

कम्पनीको संस्थापक शेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपाकिाको एक प्रतिशत रहेको छ ।

हालसम्म कर्णाली प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश नगरेको अवस्थामा जगदुल्ला निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा २०८० वैशाख २७ गते हस्ताक्षर भएको हो ।

आयोजनाले ६२३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्