काठमाडौं । बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीका कारण नेपालमा घनघोर वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनससार बंगालको खाडीबाट नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ बाट २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने देखिएको हो ।
विभागले वागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १७–२० सम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको छ ।
हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज दसैंको टीकाको दिन देशभरको मौसममा आंशिकदेखि पूर्ण बदली रहनेछ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने विभागले पूर्वानुमान गरेको छ।