काठमाडौं । निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिले आजै प्रतिवेदन बुझाउने तयारी गरेको छ । छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएकाले समितिले आजै निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभामा बुझाउने तयारी गरेको हो ।
त्यसका लागि आइतबार राति अबेरसम्म बसेको बैठकबाट निष्कर्ष नआएपछि आज बिहानै ७ बजेदेखि समितिको बैठक बसिरहेको छ । समितिका सभापति जीवन परियारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारी रहेको बताए ।
आइतबार राति सम्मको बैठकमा कुलिङ पिरियड निष्प्रभावी बनाउने दफा कसरी विधेयकमा प¥यो भन्ने पत्ता लाग्न बाँकी नै छ । प्रतिवेदन लेखन र बिग्रनुमा क–कसको संलग्नता छ भन्नेबारे सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।
खासगरी कुलिङ पिरियडमा त्रुटी कसरी भयो र त्यसमा कसैको संलग्नता भेटिए कस्तो कारबाही गर्ने भन्ने विषयमा समितिका सदस्यहरु साझा निष्कर्षमा पुग्न सकेका छैनन्।
समितिमा नेपाली कांग्रेसबाट सांसद जीवन परियार, सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती तथा प्रतिपक्षी दल माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।
कुलिङ पिरियडमा कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म नियुक्ति गर्न नमिल्ने व्यवस्था राखिएको थियो । तर, प्रतिनिधिसभाबाट विधेयक पारित हुँदा उक्त विषयमा हेरफेर भएको पाइएको थियो ।