काठमाडौं । नेपालले वैदेशिक लगानीलाई प्रोत्साहन गर्न प्रविधि हस्तान्तरण र सेयर खरिद सम्झौताका लागि स्पष्ट र सरल दिशानिर्देशहरू लागू गरेको छ । उद्योग विभागले प्रकाशित गरेको ‘वैदेशिक लगानी प्रवृत्ति र लगानीकर्ता मार्गदर्शन २०२५’ प्रतिवेदमा यी नीतिहरूले विद्यमान नेपाली उद्योगहरूमा विदेशी लगानीलाई सहज र पारदर्शी बनाउने लक्ष्य राख्छन् । यी प्रक्रियाहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याउने, रोजगारी सिर्जना गर्ने र प्राविधिक क्रियाकलापलाई बढावा दिने अपेक्षा सरकारको छ ।
नेपालले विदेशी प्रविधिको उपयोगलाई प्रोत्साहन गर्न प्रविधि हस्तान्तरण सम्झौताका लागि स्पष्ट मार्गदर्शन तयार गरेको छ । जसमा विदेशी प्रविधिलाई नेपाली उद्योगहरूमा भित्र्याउन र तिनको उत्पादकत्व तथा प्रतिस्पर्धात्मकता बढाउन सहयोग गर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार, यस्ता सम्झौताहरूमा प्रविधिको प्रकार, भुक्तानी तरिका र उद्योग विभागबाट पूर्व स्वीकृति अनिवार्य हुन्छ । सम्झौतामा प्रापक कम्पनीको नाम र उद्देश्य, प्रविधि हस्तान्तरणको ग्यारेन्टी, मध्यस्थता, र कानूनी ढाँचा समावेश गर्नुपर्छ । साथै, सम्झौताको भाषा नेपाली वा अंग्रेजी हुनुपर्ने र प्रत्येक लगानीकर्ताको हस्ताक्षर एक साक्षीबाट प्रमाणित हुनुपर्ने व्यवस्था छ । यी प्रावधानहरूले विदेशी लगानी भित्र्याउने प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउने प्रतिवेदनमा उल्लेख छ ।
विद्यमान नेपाली कम्पनीहरूमा विदेशी लगानीकर्तालाई प्रवेश गराउन सेयर खरिद सम्झौताको व्यवस्था पनि सरल बनाइएको छ । यो सम्झौता विशेष गरी नयाँ विदेशी लगानीकर्ताले विद्यमान कम्पनीको सेयर खरिद गर्न चाहँदा लागू हुन्छ । यदि विद्यमान सेयरधनीबाट सेयर खरिद गर्नुपरेमा केही संशोधन आवश्यक हुन्छ । सम्झौतामा सेयर खरिदको संरचना, पूँजीको स्रोत, बोर्डमा प्रतिनिधित्व, मध्यस्थता, र उद्योग विभागको पूर्व स्वीकृतिको विवरण समावेश गर्नुपर्ने प्रावधान राखिएको छ । यी सम्झौताहरूलाई अझ सहज बनाउन उद्योग व्यवस्थापन सूचना प्रणालीमार्फत अनलाइन आवेदन र स्वीकृति प्रक्रिया लागू गरिएको छ । यो प्रणालीले प्रशासनिक जटिलता र समयको बचत गर्ने प्रतिवेदनमा उल्लेख छ ।
उद्योग विभागको एकद्वार सेवा केन्द्रले प्रविधि हस्तान्तरण र सेयर खरिद सम्झौतासहित अन्य वैदेशिक लगानी सम्बन्धी प्रक्रियाहरूलाई एकीकृत रूपमा समन्वय गर्छ । यो केन्द्रमा १४ विभिन्न निजी क्षेत्रका संगठन र ९ सुविधा इकाईहरू समावेश छन्, जसले कम्पनी दर्ता, भिसा सुविधा, र विदेशी मुद्रा विनिमय जस्ता सेवाहरूमा सहजीकरण गर्छन् । यस्ता सुविधाहरूले लगानीकर्तालाई एकै स्थानबाट सबै आवश्यक सेवा प्राप्त गर्न सहज हुन्छ ।
प्रतिवेदनअनुसार, उल्लेखित नीतिहरूले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र आर्थिक विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राख्छन् । प्रविधि हस्तान्तरणले नेपाली उद्योगहरूमा नवीन प्रविधिको उपयोग सम्भव बनाउँछ, जसले उत्पादनको गुणस्तर र बजार प्रतिस्पर्धात्मकता बढाउँछ । त्यस्तै, सेयर खरिद सम्झौताले विदेशी लगानीकर्तालाई स्थानीय साझेदारहरूसँग सहकार्य गर्न प्रोत्साहित गर्छ, जसले रोजगारी सिर्जना र बजार विस्तारमा योगदान पु¥याउँछ । उदाहरणका लागि, ऊर्जा क्षेत्रमा प्रविधि हस्तान्तरणले सौर्य वा जलविद्युत परियोजनाहरूलाई गति दिन सक्छ, भने सेयर खरिदमार्फत पर्यटन क्षेत्रका होटल वा रिसोर्टहरूमा लगानी बढ्न सक्छ ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालको बढ्दो आर्थिक सम्भावनालाई जोड दिंदै विश्वव्यापी लगानीकर्तालाई लगानीका लागि आह्वान गरिएको बताए । उनले यो मार्गदर्शनले लगानीकर्तालाई सूचना र प्रेरणा प्रदान गर्ने बताए ।