काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्दै आएको २ करोडसम्मको आवासीय घर कर्जामा लगानी सन्तोषजक नरहेको देखिएको छ । एक वर्षमा यस क्षेत्रमा कर्जा प्रवाह ६.३९ प्रतिशतले मात्रै बढेको छ ।
त्यसो त पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको असर समग्र बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा पनि देखिएको छ । कर्जा प्रवाहलाई चलायमान बनाउनको लागि बैंक तथा वित्तीय संस्थाहरुको प्राथमिकतामा घर कर्जा परेपनि यस क्षेत्रमा कर्जा प्रवाह भने सुस्त नै रहेको छ ।
केन्द्रीय बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले समग्रमा २ करोडसम्मको आवासीय कर्जामा ४ खर्ब १० अर्ब ४ करोड रुपैयाँ लगानी गरेका छन् । २०८२ को जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ८५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसअवधिमा वाणिज्य बैंकले मात्रै ३ खर्ब २६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले ६८ अर्ब ६७ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरुले १४ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज दर निकै तल आएको छ । ब्याजदर घट्दा पनि बैंक तथा वित्तीय संस्थाहरुबाट अपेक्षाअनुरुप कर्जा प्रवाह भने भएको छैन । कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । यसैबीच बैंक तथा वित्तीय संस्थाको मुख्य प्राथमिकतामा घरजग्गा कर्जा रहेको छ । उनीहरुको जोड भने घर–जग्गा कर्जामा रहेको बढी रहेको देखिन्छ । तथापि, यस क्षेत्रको कर्जा प्रवाह भने आक्रामक बन्न सकेको छैन् ।

आवास कर्जाको सीमा बढ्यो, वृद्धि होला त कर्जा प्रवाह ?
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आवास कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले निजी आवासीय घर निर्माण÷खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा बढाएको हो । अब निजी घर निर्माण गर्दा र वा खरिद गर्दा ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । यसअघि २ करोड रुपैयाँ कर्जा पाइन्थ्यो । पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरिएको छ ।
उक्त व्यवस्थाले आवासीय घर कर्जा बढने अपेक्षामा बैंकर रहेका छन् । यसले आवासीय घर कर्जाको सीमा र कर्जा अनुपात दुवै बढ्न गई रियलस्टेट सेक्टर मा रियलस्टेट सेक्टरलाई चलायमान बनाउन मद्दत पुग्ने बैंकरहरुको अपेक्षा छ । तथापि, यो नीतिले तत्काल प्रभाव भने नपर्ने एभरेष्ट बैंकका सीइओ सुदेश खालिङ बताउँछन् । ‘अहिले बर्खाको समयमा आवासीय कर्जाको लागि धेरै माग आउँदैन’ उनले भने, ‘असोज लागेपछि यस क्षेत्रमा कर्जाको माग बढ्नेछ ।’
वाणिज्य बैंकहरुको २ करोडसम्मको आवासीय कर्जामा लगानी ३.६९ प्रतिशतले बढ्यो
गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २ करोडसम्मको आवासीय कर्जामा ३ खर्ब २६ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका छन् । यो गत वर्षको यसै अवधिको तुलनामा ३.६९ प्रतिशतले बढी हो । २०८१ को जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले २ करोडसम्मको आवासीय कर्जामा ३ खर्ब १५ अर्ब ९ करोड रुपैयाँ लगानी गरेका थिए ।
२ करोडसम्मको आवासीय कर्जामा सबैभन्दा धेरै लगानी गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । यसले यस क्षेत्रमा ४७ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ । तथापि, अघिल्लो वर्षको जेठको तुलनामा यस वर्षको जेठमा यस बैंकको २ करोडसम्मको आवासीय कर्जामा लगानी भने २१.१२ प्रतिशतले घटेको हो । २०८१ को जेठसम्ममा एनआइसी एसिया बैंकले ६० अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको थियो ।

१ वर्षको अवधिमा ८ बैंकको आवासीय घर कर्जामा लगानी घटेको छ भने १२ बैंकको बढेको छ । सबैभन्दा धेरै २ करोडसम्मको आवासीय कर्जामा लगानी बढाउनेमा सानिमा बैंक रहेको छ । यसको यो क्षेत्रमा लगानी २६.६३ प्रतिशतले बढेर १० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । २ करोडसम्मको आवासीय कर्जामा सबैभन्दा कम लगानी गर्नेमा नेपाल एसबिआई बैंक रहेको छ ।