Logo

नेपालको विकास : कालोपत्रे सडक महिना दिन नपुग्दै भत्किएर झार उम्रियो

नेपालको विकास : कालोपत्रे सडक महिना दिन नपुग्दै भत्किएर झार उम्रियो



काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् ।

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् । यहाँ कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारवाहीको माग गरिएको उनको भनाइ छ । यहाँ गत असार महिनामा सडक कालोपत्र गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए । ‘सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ’, वडाध्यक्ष नेपालले भने, ‘सडक निर्माणको काममा अत्यान्तै लापरवाही भएको अवस्था छ । कालोपत्र सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहिन काम भएको प्रष्ट देख्न सकिन्छ ।’

सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आरएनआरआर कम्पनीले असार महिनामा यहाँको शून्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालले बताए । टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहिन काम भएपछि स्थानीय आक्राकोसित बनेको उनको भनाइ छ ।

कालोपत्र गरिएको सडक छोटो समयमा ठाउँठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए । गैर जिम्मेवारढङ्गले सडक कालोपत्र गर्ने निकायलाई राज्यले कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ। यो सडक निर्माणमा अत्यान्तै गुणस्तरहिन काम भएको अवस्था छ’, वडाध्यक्ष खड्काले भने, ‘कालोपत्र सडक भत्किएको छ । अरु त के कालोपत्र गरिएको सडकमा झार उम्रिएको छ । हामीले गुणस्तरहिन काम गर्नेलाई कारवाहीको माग गरेका छौँ ।’

सडक कालोपत्रको क्रममा नाली समेत व्यवस्थित नगरिएको स्थानीयबासी शरण राईले बताए । सडक कालोपत्र सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निरास बनेको उनको भनाइ छ । ‘सडक निर्माणको अवस्था बेहाल छ’, उनले भने, ‘कालोपत्र गरिएको सडक भत्किएको अवस्था छ ।

दुई वटा जिल्लालाई जोड्ने सडक कालोपत्रशको यो अवस्था देख्दा हामी दुखित छौँ । राज्यले यो कामको छानबिन गर्न आवश्यक छ ।’ ठेकेदार कम्पनीले निर्माणस्थलमा योजना बोर्ड समेत नराख्दा योजनाको बजेटलगायतको विषयमा स्थानीय बेखबर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्