काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघ (एनईएफए) ले सकारात्मक प्रतिक्रिया दिएको छ।
संघका अनुसार मौद्रिक नीतिले ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाले तनावमा परेका बैंकहरूलाई राहत दिने जस्ता लचिला प्रावधानले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।
संघले भनेको छ- ‘नीति सरकार, बैंक, ऋणी र निजी क्षेत्रसहित सबै सरोकारवालाका लागि लाभदायक बन्ने अपेक्षा गरिएको छ। आपूर्ति पक्ष, सेयर बजार, कृषि, साना उद्यम तथा निजी घरजग्गा क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।’
यद्यपि, चालुपुँजी कर्जा मार्गदर्शनका प्रावधान केवल केही क्षेत्रका लागि मात्र पुनरावलोकन हुने संकेतप्रति संघले चिन्ता व्यक्त गरेको छ। महासचिव जयन्तकुमार अग्रवालद्वारा जारी विज्ञप्तिमा सबै व्यवसायमा लागू हुने गरी प्रावधानको पुनरावलोकन गर्न संघले माग गरेको छ।
मौलिक रूपमा धितोपत्र बजार, सेयर कारोबार र विदेश भ्रमण सम्बन्धी प्रावधानहरूलाई संघले स्वागत गरे पनि, आयात, भुक्तानी प्रक्रिया र बैंकमार्फत गरिएको होल्डिङ रकम सम्बन्धी संघका मागहरू भने मौद्रिक नीतिमा सम्बोधन नभएको संघले जनाएको छ ।
मौद्रिक नीतिलाई सुझाव दिँदै संघले भुक्तानी सीमा वृद्धि र विदेशीसँग लिएको सेवाबापत विदेशी मुद्रा सटही सीमा अझ लचिलो हुनुपर्ने, सामान आयात गर्दा बोर्डरमा आइपुगेपछि भुक्तानी गर्न मिल्ने व्यवस्था आवश्यक रहेको, भन्सार पासका बेला बैंकले होल्ड गर्ने ३ प्रतिशत व्यवस्था हटाउनुपर्ने र सामान्य उपभोग्य वस्तुमा रहेको आयात प्रतिबन्ध हटाउनु पर्ने बताएको छ ।
संघले छुटेका विषयवस्तुहरूलाई मौद्रिक नीतिको समीक्षा वा राष्ट्र बैंकद्वारा पछि जारी हुने परिपत्र निर्देशनमार्फत समेटिने आशा व्यक्त गरेको छ।