काठमाडौं । नेपाल–चीन जोड्ने मुख्य नाका तातोपानी पुग्ने सडक पहिरोको कारण पूर्णरूपमा अवरुद्ध भएको छ । कोदारीस्थित अनरनिको राजमार्गको इकु भन्ने स्थानमा आज बिहान आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि सडक सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ । सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव भएको छैन । रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट व्यापार सहज हुने नाका सम्बद्ध व्यापारीहरुले अपेक्षा गरे पनि जीर्ण सडकको कारण पटक पटक सडक अवरुद्ध भएपछि व्यापारीहरू चिन्तित भएका छन् । सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् ।
बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । केरुङ नाका अबरुद्ध भएको कारण सिन्धुपाल्चोकको कोदारी हुँदै १२६ जना पर्यटक नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार १२६ पर्यटक मध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौंतर्फ पठाइएको थियो ।