Logo

कृषिको क्षेत्रमा विशिष्टीकृत संस्था आवश्यक, अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्छ : डा. खतिवडा

कृषिको क्षेत्रमा विशिष्टीकृत संस्था आवश्यक, अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्छ : डा. खतिवडा



काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक रहेको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २४ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले कृषि क्षेत्रको विकास र विस्तारका लागि विशेष कार्य गर्नेगरी विशिष्टीकृत वित्तिय संस्थाको आवश्यकता देखिएको बताएका हुन् ।

उनले साना किसानहरुलाई कृषि, पशुपालन र आयआर्जनका कार्यमा संलग्न गराउन साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै लघुवित्तहरु सदस्यहरुलाई उत्पादनमा जोड्नेगरी आफ्ना कार्यक्रम अगाडि बढाउन नसके लामो समयसम्म चल्न नसक्ने तर्क गरे । ऋण दिने मात्र नभई सदस्यहरुलाई लगानी गरेको ऋणले आम्दानी दिनेगरी सदस्यहरुलाई तयार गर्न सक्नुपर्ने भन्दै यस कार्यमा साना किसानले नमुनाका रुपमा कार्य गरेको प्रति खुसी व्यक्त गरे ।

उनले सरकारले दिएको सहयोगलाई सदुपयोग गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो कामलाई प्रमाणित गरेकै कारण अहिले विदेशी निकायहरुले समेत विश्वास गर्ने वातावरणको विकास भएको बताए । नेपालमा कृषि र पशुपालन मार्फत गर्न सकिने उद्यम र आयआर्जनका क्षेत्रहरु धेरै रहेको स्मरण गर्दै डा. खतिवडाले एकल भन्दा पनि अब सामुहिक उत्पादन र आम्दानीमा जोडिनुपर्नेमा जोड दिए ।

नेपालको राँगा, बंगुर लगायतका मासुजन्य उत्पादनको बजार तेस्रो मुलुकमा भइसकेको भन्दै उनले अब किसानहरुलाई बजारको ग्यारेन्टी गर्दै निरोगी पशुवस्तु उत्पादनमा प्रोत्साहन गर्न सके नेपाली किसानहरुको आयस्तरमा वृद्धि गर्न सकिने बताए । उनले भने,‘ यसका लागि विशेष कार्यक्रम सहित विशेष प्रकारको वित्तिय संस्थाको आवश्यकता पर्छ त्यसतर्फ साना किसान केही अगाडि बढेको छ अझै अगाडि बढ्नुस ।’

डा. खतिवडाले साना किसानले अहिले कृषि सहकारी मार्फत सदस्यहरुलाई उत्पादन र बजारीकरणमा जोड्दै गएको प्रति अब उत्पादनको भण्डारण, प्रोसेसिङ, प्याकेजिङ र ब्राण्डीङ गरेर आयस्तर बढाउने कार्यलाई अझै प्रभावकारी बनाउन सुझाव दिए । पछिल्लो समय सहकारी तथा साना बचत समूह सहकारीका सिद्धान्त अनुरुप सञ्चालन नहुँदा बचतकर्ताहरूको रकम हिनामिना हुनेक्रम बढेको भन्दै यो समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

वित्तीय कारोबारमा अपारदर्शी क्रियाकलाप मौलाउँदै गएपछि नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८१ चैत २१ गतेदेखि लागू हुनेगरी ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’ तयार गरी लागू गरिसकेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थागत सुशासन बढाउन नसक्दा सहकारीमा केही समस्या आएको बताए । उनले देशव्यापी अभियान चलाई रहेको भन्दै यस क्रममा संस्थाका सञ्चालक र कर्मचारीहरुले आफ्नो जिम्मेवारी भन्दा फरक काम गरेका कारण संस्थाहरुमा समस्या सुरु भएको तर्क गरे । सहकारीले समुदायको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले सुधार आफैबाट गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्