काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा र सुविधा फिर्ता लिने निर्णय गरेकी छन् । उनले आज मिति २०८२ असार १७ गतेदेखि लागू हुनेगरी सेवा–सुविधा त्याग गर्ने औपचारिक जानकारी गृह मन्त्रालयलाई पठाएकी हुन् ।
‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ता गर्ने निवेदन गृह मन्त्रालयमा पुगेको छ,’ स्रोतले जानकारी दियो, ‘आजकै मितिबाट ती सेवा सुविधा फिर्ता हुँदैछन् ।’
पूर्वराष्ट्रपति भण्डारीले यसअघि असार १४ गते नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी थिइन् । उनले आफ्नो पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी पनि सार्वजनिक गरेकी छन् । भण्डारीको सक्रियतासँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ ।