Logo

बजेटबाट जथाभावी पैसा बाँड्ने सरकारलाई सेजनको झड्का, भन्यो– एक करोड अनुदान स्वीकार गर्दैनौं

बजेटबाट जथाभावी पैसा बाँड्ने सरकारलाई सेजनको झड्का, भन्यो– एक करोड अनुदान स्वीकार गर्दैनौं



काठमाडौं । सरकारले दिएको १ करोड रुपैयाँ बराबरको संचालन अनुदान नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले अस्विकार गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई एक करोड रुपैयाँको सञ्चालन अनुदान विनियोजन गरे पनि सेजनले उक्त रकम अस्वीकार गर्ने निर्णय गरेको हो ।

वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ अन्तर्गत विनियोजित उक्त रकमबारे मन्त्रालयको सदाशयताको सम्मान गर्दै सेजनले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। तर, २०८२ असार १७ गते बसेको कार्यसमिति बैठकले केही स्पष्ट कारणको आधारमा उक्त अनुदान नस्वीकार गर्ने निर्णय गरेको हो।

सेजनले मन्त्रालयसँग कुनै अनुदानको माग नगरेको र विगतमा पनि मन्त्रालयबाट कुनै निःशर्त अनुदान स्वीकार नगरेको स्पष्ट पारेको छ। साथै, संस्था र यसको सदस्यहरू बजेट अनुशासन र वित्तीय स्रोतको प्रभावकारी उपयोगमा निरन्तर खबरदारी गर्ने भूमिकामा रहँदै आएको भन्दै अनुदान लिनु आफ्नै मौलिकता र पेशागत आचरणविपरीत हुने ठहर गरेको छ।

सेजनको भनाइमा सरकार आफैं वित्तीय अभावको अवस्थामा रहेका बेला नागरिकका आधारभूत आवश्यकता र जीवनरक्षासँग सम्बन्धित क्षेत्रमा लगानी गर्नु प्राथमिकता हुनुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्