Logo

ओसाका विश्व प्रदर्शनीमा नेपाल मण्डप अलपत्र, ४० करोड रुपैयाँ डुब्ने जाेखिम

ओसाका विश्व प्रदर्शनीमा नेपाल मण्डप अलपत्र, ४० करोड रुपैयाँ डुब्ने जाेखिम



काठमाडौं । जापानको ओसाकामा जारी विश्व प्रदर्शनीमा नेपालले निर्माण गरिरहेको नेपाल मण्डप ९नेपाल प्याभिलियन० समयमै नबन्दा देशको प्रतिष्ठामै आघात पुगेको छ । १५८ देश सहभागी रहेको यो विश्व प्रदर्शनी ६ महिना चल्नेछ, जुन २०८१ चैत ३१ गतेदेखि सुरु भएको हो । तर प्रदर्शनी सुरु भएको दुई महिना बितिसक्दा पनि नेपाल मण्डप अझै बन्द अवस्थामा रहेको जापानी सञ्चारमाध्यमहरूले फोटोसहित समाचार सार्वजनिक गरिरहेका छन् ।

यो परियोजनाको लागत करिब ४५ करोड रुपैयाँ रहेको छ, जसमा करिब ३८ करोड ठेकेदार कम्पनीलाई भुक्तानी भइसकेको छ । तर पनि निर्माण कार्य ९० प्रतिशत मात्र सम्पन्न भएको र बाँकी काम ठप्प भएको बताइएको छ । विवादको कारण जापानी निर्माण कम्पनी स्याङ्कोले काम रोकेको हो । निर्माणको जिम्मा पाएको नेपाली कम्पनीले अनुभव नहुनु र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले पूर्वाधार नभएको कम्पनीलाई जिम्मा दिनु नै प्रमुख कारण भएको सरोकारवालाहरू बताउँछन् ।

कार्यविधि २०६२ अनुसार प्राविधिक अङ्कभन्दा बढी रोयल्टी कबोल गर्ने कम्पनीलाई प्राथमिकता दिनुपर्ने नियमका कारण विगतमा राम्रो काम गरिसकेको कम्पनी छनोटमा परेन । यसै कारण अनुभवी कम्पनी पाखा लाग्दा समयमै निर्माण सम्पन्न हुन सकेन ।

अबसम्म मण्डप तयार भइ सञ्चालनमा आइसकेको भए नेपालले आफ्नो कला, संस्कृति, सम्पदा, पर्यटन तथा उत्पादन वस्तुहरूलाई विश्व सामु चिनाउने अवसर पाउने थियो । तर मण्डप बन्द हुँदा त्यो अवसर गुमेको छ । मण्डप ९०० वर्गमिटरमा निर्माण हुँदैछ, जहाँ नेपाली पहिचान झल्किने संरचना तयार पारिनुपर्ने थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल सरकार र निर्माण कम्पनीबीचको भुक्तानी विवादका कारण निर्माण कार्य अझै रोकिएको छ । नेपाली पक्षले सम्झौताअनुसार मात्रै बाँकी रकम भुक्तानी गर्ने अडान लिएको छ भने जापानी कम्पनीले सम्पूर्ण भुक्तानी नपाएसम्म काम नगर्ने बताएको छ ।

सम्झौताअनुसार समयमै काम सम्पन्न नगरेको कम्पनीलाई कालोसूचीमा राख्न सकिने व्यवस्था रहे पनि नेपाल सरकारले अझैसम्म कुनै कारबाही प्रक्रिया अगाडि नबढाएकोमा सरोकारवाला क्षेत्रले चिन्ता व्यक्त गरेका छन् ।

विज्ञहरू भन्छन्, यदि आगामी साउदी अरेबियामा हुने विश्व प्रदर्शनीका लागि पनि यही कार्यविधि दोहोरियो भने फेरि पनि नेपालको बेइज्जती हुने जोखिम यथावत् रहनेछ । त्यसैले कार्यविधिमा समयानुकूल सुधार आवश्यक भएको उनीहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्