काठमाडौं । सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सम्बन्धित व्यवसायी संघसंस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गर्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली, र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकार सहितको टोलीले उक्त माग अघि सारेका हुन्।
व्यवसायीहरूका अनुसार बजेट वक्तव्यमा प्रस्तावित करको व्यवस्था कार्यान्वयनमा आएमा नेपाली सुनचाँदी व्यवसाय प्रतिस्पर्धा गर्न नसक्ने गरी धराशायी हुने अवस्था आउनेछ। छिमेकी भारतको तुलनामा कर र भन्सार दर बढी भएकाले व्यापार घाटा हुने र आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्।
प्रधानमन्त्री ओलीले समस्याको समाधान संवादबाट खोजिने बताउँदै सम्बन्धित मन्त्रालयसँग छलफल गरेर सम्भव भएसम्म माग सम्बोधन गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले व्यवसायीहरूलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका छन्।