सहकारीको परिचय
सहकारी साझा उद्देश्य प्राप्तीका लागि अरुसंग मिलेर गर्ने व्यवसाय हो । यो कुनै व्यक्तिले एक्लै गर्ने व्यवसाय होइन । एक्लैले आफ्ना आवश्यकता पूरा गर्न नसक्नेभएमा एक भन्दा बढी मानिसहरु मिलेर आफ्ना साझा आवश्यकताहरु पूरा गर्नका लागि संयुक्त रुपमा गर्ने व्यवसाय हो सहकारी ।
सह कार्य गर्ने, एक आपसमा मिलेर कार्य गर्ने, एकले सबैलाई र सबैले एकलाई सहयोग गर्ने भावनाबाट प्रेरित भै साझा उद्देश्य प्राप्तीका लागि स्वेच्छिक रुपमा एकजुट भएका व्यक्तिहरुको समूह हो सहकारी ।
सहकारी कानूनले सहकारी संस्था गठन गर्नका लागि आवश्यक पर्ने न्यूनत संख्या तोकेको हुन्छ । त्यस अनुसार संयुक्त रुपमा व्यवसाय संचालन गर्न चाहने मानिसहरु मिलेर गठन गर्दछन सहकारीलाई ।
उदाहरणका लागि हाम्रो सहकारी ऐन, २०७४ अनुसार कम्तीमा ३० जना नेपाली नागरिकहरु आपसमा मिलेर विषयगत वा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्न सक्छन । तर श्रमिक, युवा लगायतले आफ्नो श्रम वा सीपमा आधारित भई संयक्त रुपमा सहकारी व्यवसाय संचालन गर्न चाहेमा कम्तीमा १५ जना नेपाली नागरिक मिलेर सहकारी संस्था गठन गर्न सक्ने व्यवस्था छ । अर्कोतर्फ सहकारीका रुपमा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्नको लागि कम्तिमा १०० नेपाली नागरिक मिलेर सहकारी संस्था स्थापना गर्न सकिने प्रावधान पनि छ ।
आपसमा मिलेर सहकारी संस्था स्थापना गर्ने व्यक्तिहरु सहकारीका सदस्य हुन । तिनीहरु सहकारीमा स्वेच्छिक हिसावले आवद्ध हुन्छन । तिनीहरुलाई सहकारीको सदस्य बन्न कसैले वाध्य गराउदैन । यसैगरी सहकारीको सदस्य हुनको लागि तोकिएको मापदण्ड पुगेका व्यक्तिलाई जाति, धर्म, लिंग आदिका आधारमा सदस्य हुनबाट कसैले छेक्दैन । सहकारीको सदस्यता त्याग्न चाहने व्यक्तिलाई कसैले रोक्न सक्दैन र सदस्य भै रहनेलाई कसैले सदस्यता छोड्न वाध्य गराउदैन । सहकारीका सबै सदस्यहरु संयुक्त रुपमा सहकरीका मालिक हुन्छन् । अर्थात सहकारी साझा उद्देश्य प्राप्तीकालागि स्वेच्छिक रुपमा एकिकृतभएका व्यक्तिको संयुक्त स्वामित्व रहने व्यवसाय हो ।
सहकारीलाई सबै दस्यहरुले “एक सदस्य, एक मत” का आधारमा प्रजातान्त्रिक हिसावले संयुक्त रुपमा नियन्त्रण गर्दछन । सहकारीमा सदस्यहरुले कति लगानी गरेका छन भन्ने आधारमा मत कायम हुंदैन । पैसाको आधारमा शक्ति किन्न पाइदैन, अर्थात सहकारीमा “एक शेयर एक मत” हुदैन । सहकारीमा हरेक सदस्यको एक मत हुन्छ र सबै सदस्यको वरावार अधिकार हुन्छ ।
सहकारी संस्थाबाट हुने लाभका भागी पनि यसका सदस्यहरु नै हुन । सहकारी सदस्यहरुको साझा हित प्राप्तीको लागि स्थापना गरिएको संस्था भएकोले यसको मुनाफाका हिस्सेदार पनि सदस्यनै हुन्छन । सहकारीको मूल उद्देश्य लगानीकर्ताको मुनाफा बढाउनेभन्दा पनि यसका सदस्यको हित भएकोले यसको मुनाफा सदस्यहरुले सहकारीको कारोवारमा कति योगदान दिए (सहकारीको कति मूल्य अभिवृद्धि गरे) भन्ने आधारमा सहकारीको विनियम अनुसार वितरण गरिन्छ ।
सहकारीका केन्द्रविन्दु सदस्य हुन, सदस्यहरुको साझा हितकालागि सहकारी स्थापना हुन्छन, सहकारीमा सदस्यहरु जोखिम र प्रतिफल दुबैका भागदार हुन्छन, सहकारीको स्वामित्व सदस्यहरुमा निहित हुन्छ, सहकारीलाई सदस्यहरुद्वारा प्रजातान्त्रिक किसिमले नियन्त्रण गर्दछन र सहकारीबाट लाभ पनि सदस्यहरुले नै लिन्छन ।
अन्तर्राष्ट्र्रिय सहकारी गठबन्धनले “सहकारी भनेको संयुक्त स्वामित्वमा रहेको र लोकतान्त्रिक रुपमा नियन्त्रित उद्यमद्वारा आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकांक्षाहरु पूरा गर्न स्वेच्छाले एकतावद्ध भएका व्यक्तिहरुको स्वायत्त संस्था हो” भनेर परिभाषित गरेको छ ।
सहकारीको मूल्य, मान्यता र सिद्धान्त
सहकारी विशेष प्रकृतिको व्यवसाय हो । यो निश्चित मूल्य र मान्यतामा आधारित छ । अन्तर्राष्ट्र्रिय सहकारी गठबन्धनले सहकारीका मूल्यको रुपमा स्वाबलम्बन, स्व–उत्तरादायित्व, लोकतन्त्र, समानता, समता, र ऐक्यवद्धतालाई अगाडी सारेको छ । यसैगरी गठबन्धनले स्वेच्छिक र खुला सदस्यता, सदस्यहरुद्वारा लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारी–सहकारीबीच पारस्परिक सहयोग, र समुदायतप्रतिको चांसोलाई सहकारीका सात सिद्धान्तका रुपमा आत्मसाथ गरेको छ ।
सहकारी संस्थाको सदस्यता स्वेच्छिक हुन्छ । कुनै व्यक्ति आफ्नो इच्छा अनुसार कुनैपनि समयमा सहकारीको सदस्य बन्न र इच्छा अनुसार कुनै पनि समयमा सदस्यता त्याग्न सक्छ । उसलाई सहकारीमा जोडि रहने वा सहकारीबाट तोडिने वाध्यता हुदैन । सहकारी संस्थाको सदस्यता सबैको लागि खुल्ला हुन्छ र धर्भ, जात तथा लिंगको आधारमा कुनै भेदभाव गरिदैन । सहकारी संस्थाको नियन्त्रण “एक सदस्य एक मत” का आधारमा लोकतान्त्रिक किसिमले हुन्छ । सहकारीका प्रत्येक सदस्यलाई एक मत हुन्छ र सोही आधारमा तिनीहरुले आफूमध्येबाट संचालक समितिको चयन गर्दछन ।
सहकारी सदस्यहरुले संस्थामा सदस्यता शुल्क तिरेर, शेयर खरीद गरेर र सहकारीसंग आर्थिक कारोवार गरेर आर्थिक योगदान दिन्छन र संस्थाको पूजीलाई प्रजातान्त्रिक किसिमले नियन्त्रण गर्दछन । संस्थाको खूद आर्जनमध्ये केही रकम संस्थाको विस्तार लगायतका कार्यका लागि आरक्षित (रिर्जभ) कोषमा राख्छन भने वांकि लगानीको आधारमा नभै सदस्यहरुले संस्थासंग कारोवार गरेको आधारमा संरक्षण लाभांश (प्याट्र्रोनेज डिभिडेन्ट) का रुपमा वितरण गर्दछन ।
सहकारी आफ्ना सदस्यहरुद्वारा नियन्त्रित स्वायत्त र स्वतन्त्र संस्था हुन । तिनीहरले आफ्ना सदस्य, संचालक, व्यवस्थापक तथा कर्मचारीका लागि सहकारी सम्वन्धी शिक्षा, तालिम र सूचना प्रदान गर्नु पर्दछ भने युवा, सामुदायिक नेता लगायत सर्वसाधारणलाई सहकारीका वारेमा जानकारी गराउनु पर्दछ । सहकारीले आफ्ना सदस्यहरुलाई राम्रो सेवा पुर्याउन र सहकारी आन्दोलनलाई सबल बनाउनका लागि स्थानीय, राष्ट्र्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्र्रिय स्तरका सहकारीसंंग मिलेर काम गर्नु पर्दछ । यसैगरी सहकारीले आफ्ना सदस्यहरुले स्वीकृत गरेको नीति अनुसार समुदायलाई सक्दो सहयोग गर्नु पर्दछ ।
सहकारी र अन्य व्यवसाय बीच भिन्नता
इमान्दारी, खुलापन, र सामाजिक दायित्व सहकारीका नैतिक मूल्य हुन भने आत्म–सहायता, आत्म–उत्तरदायित्व, लोकतन्त्र, समानता, र एकता सहकारीका मूल मन्त्र हुन । यसैले सहकारी अन्य प्रकारका व्यवसायहरुभन्दा भिन्न छ ।
सहकारी लगानीकर्ताको लागि मुनाफा कमाउने मूल उद्देश्य राखेर स्थापित भएको संस्था होइन । न त यो गैर मुनाफामूलक संस्था जस्तो एक समूहका मानिसले अर्को समूहका मानिसलाई मद्दत गर्ने हेतुले स्थापित भएको संस्था नै हो ।
हो, मुनाफाकारी व्यवसायमा झै सहकारीमा पनि विभिन्न उद्देश्य पूर्तिका लागि मनाफा कमाउन आवश्यक हुन्छ । उदाहरणका लागि सहकारीको खर्च व्यहोर्न र त्यसलाई टिकाइ राख्न मुनफा आर्जन गर्नु पर्दछ । यसैगरी सहकारीको विस्तार गर्न पनि मुनाफा चाहिन्छ । मुनाफाबाट विभिन्न कोष खडा गर्न सकिन्छ जुन आर्थिक उतार बढाव भएको वेला सहकारीलाई स्थिायित्व दिन प्रयोग गर्न सकिन्छ । यसैगरी सदस्यहरुलाई प्याट्रोनेज लाभांश वितरण गर्न मुनाफा कमाउन आवश्यक हुन्छ । तर मुनाफाकारी व्यवसायमा जस्तो सहकारीको मूल उद्देश्य मुनाफा कमाउने मात्रै होइन । रातारात धनी वन्न चाहनेको लागि सहकारी उपयुक्त व्यवसाय होइन । सहकारी विशुद्ध रुपमा आफ्ना सदस्यहरुको हितको लागि स्थिापित संस्था हो र सदस्यलाई जति लाभ पुर्याउन सक्यो सहकारी त्यति सफल भएको मानिन्छ ।
परम्परागत व्यापार संचालन गर्न लगानीकर्ताले पूजी लगाउन्छन र त्यसको मूल ध्यय शेयरधनि लगानीकर्ताको मुनाफा बढाउने हो । त्यस्तो व्यवसायको मालिक लगानीकर्ता हुन्छ । जसले त्यस्तो व्यापारका संचालकको नियुक्ति गर्दछन । तिनीहरुले वित्तीय विवरणहरु तयार गर्नु पर्दछ र मुनाफामा कर तिर्नु पर्दछ र कर पछिको मुनाफा शेयर धनिलाई वितरण गर्दछन र कर्मचारीलाई बोनस प्रदान गर्दछन ।
परम्परागत मुनाफामुखी व्यवसायमा प्रतिशेयर मत कायम गरिन्छ । जति धेरै शेयर भयो त्यति धेरै मत हुन्छ । बढी शेयर हुनेले आफ्नो हित हुने किसिमले निर्णय गर्दछन भने सहकारीमा शेयरको आधारमा नभै सदस्यको हिसावले मत कायम हुने हुुंदा लगानी जति सुकै भएपनि हरेक सदस्यको समान मत हुन्छ ।
सहकारीमा सदस्य परम्पारगत मुनाफाकारी व्यापारका शेयरधनि जस्तो लगानी गरेर सुत्ने होइन, सहकारीका सदस्य सधै सक्रिय भैरहनु पर्दछ । सहकारीसंग सकेसम्म बढी कारोवार गरेमा सहकारीको मुनाफा बढी हुने र त्यस्तो अवस्थामा सदस्यले पाउने प्याट्र्रोनेज लाभांश पनि बढी हुने भएकोले सदस्यहरुले सहकारीसंग सकेसम्म बढी कारोवार गर्दै जानु पर्दछ ।
सहकारी संस्थाको मूल उद्देश्य यसका सदस्यहरुलाई सेवा प्रदान गर्नु हो भने मुनाफाकारी व्यवसायको मूल उद्देश्य मुनाफा कमाउने हो । सहकारी संस्थालाई यसका सदस्यहरुले चयन गरेको वोर्डले संचालन गर्दछ भने मुनाफामुलक व्यवसायको संचालन लगानीकर्ताको वोर्डले संचालन गर्दछ । सहकारी संस्था सदस्यहरुको लगानी र संस्थाले कमाएको आयद्वारा वित्त पोषित हुन्छ भने मुनाफाकारी व्यवसाय लगानीकर्ताको लगानी र व्यवसायको मुनाफाबाट वित्तपोषित हुन्छ । सहकारी संस्थाको स्वामित्व यसका सदस्यहरुको हुन्छ भने मुनाफा मुलक व्यवसायको स्वामित्व लगानीकर्ताको हुन्छ ।
यसैगरी सहकारीले समुदायको भलाईको लागि चांसो राख्दछन, समुदायको विकासको लागि विभिन्न कार्यक्रम संचालन गर्दछन र सहकारीका सदस्य तथा समुदायको भलाई कसरी हुन्छ भनेर चिन्ता गर्दछन भने यस किसिमको स्थिति नाफामूलक व्यवसायमा हुंदैन ।
सहकारी गैर–मुनाफा मूलक संस्था जस्तो पनि होइन । गैर–मुनाफामूलक संस्थाहरुको उद्देश्य सामाजिक सेवा प्रदान गर्नु हो । यसको उद्देश्य मुनाफा कमाउने होइन, यसले अनुदान, चन्दा र सरकारी सहयोगबाट साधन प्राप्त गर्दछ । यसको आम्दानीको हिस्सा यसका सदस्य, व्यवस्थापक वा कर्मचारीलाई वांडिदैन । यिनीहरुले वित्तीय विवरणहरु तयार गर्न आवश्यक हुदैन र तिनीहरुले कर तिर्नु पर्दैन । अर्कोतर्फ केही सहकारी अपवादका रुपमा गैर–मुनफाकारी भएपनि सामान्यतया सहकारीे विशुद्ध गैर–मुनाफाकारी संस्था जस्तो मुनाफा नकमाउने संस्था होइन र सहकारी गैर–मुनाफाकारी संस्था जस्तो अरुको दानमा मात्र निर्भर रहने व्यवसाय होइन । सहकारीलाई टिकाउनका लागि मुनाफा कमाउनु पर्ने हुन्छ । सहकारीले वित्तीय विवरणहरु तयार गर्नु पदर्छ, मुनाफा भएमा सदस्यहरुलाई पेट्र्रोनेज लाभांश वितरण गर्नु पर्दछ र सहुलियत दरमा कर पनि तिर्नु पर्दछ ।
निष्कर्ष
सहकारी एक्लैले गर्ने व्यवसाय होइन । यो एकभन्दा बढी मानिसहरु स्वईच्छाले आपसमा मिलेर आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक इच्छा तथा आकांक्षाहरु पूरा गर्नको लागि गरिने व्यवसाय हो ।
नेपालमा सहकारी व्यवसाय संचालन गर्नका लागि न्युनतम ३० जना (श्रम वा सीपमा आधारित सहकारीका लागि न्यूनतम १५ जना र शहरी क्षेत्रमा बचत तथा ऋण सहकारीकालागि न्यूनतम १०० जना) मिलेर सहकारी संस्था स्थापना गर्न सक्छन । यसरी स्वेच्छिक रुपमा आपसमा मिलेर सहकारी संस्था स्थापना गर्ने व्यक्तिहरुलाई सहकारीका सदस्य भन्दछन जुन सहकारीका संयुक्त मालिक हुन्छन् । तिनीहरुले संयुक्त रुपमा प्रजातान्त्रिक किसिमले सहकारीको नियन्त्रण गर्दछन र सहकारीबाट हुने फाइदा पनि तिनीहरुले नै लिन्छन ।
सहकारी विशेष प्रकृतिको व्यवसाय हो । यो निश्चित मूल्य, मान्यता तथा सिद्धान्तमा आधारित छ । यो परम्परागत रुपमा विशुद्ध मुनाफा आर्जन गर्ने किसिमले संचालन गरिने निजी व्यापार र गैर–मुनाफा मूलक संस्था विच पर्दछ र यो मुनाफा केन्द्रित व्यापार र गैर मुनाफाकारी व्यवसायको विकल्प होइन । यो दिगो विकासको लागि संभावना वोकेको राम्रो व्यापार माडेल हो ।
सहकारीलाई सहि किसिमले कार्यान्वयन गर्नका लागि यसको परिचय, मूल्य, मान्यत, सिद्धान्त र संचलन प्रक्रियका वारेमा सहकारीका सदस्य, संचालक, व्यवस्थापक, कर्मचारी र सर्वसाधारणलाई राम्रो जानकारी दिनु पर्दछ । यसैगरी सहकारीमा सहभागी हुन चाहनेहरुलाई पनि सहकारीका विविध पक्षका वारेमा जानकारी दिनु पर्दछ र निजको लागि सहकारी उपयुक्त व्यवसायह हो होइन र निज पनि सहकारीको लागि मिल्दो जुल्दो व्यक्ति हो होइन भनेर यकिन गर्नु पर्दछ । यस किसिमको जानकारी पश्चात सहकारीमा संलग्न हुन चाहने व्यक्तिलाई सहकारीको सदस्य बनाएर सहकारीका वारेमा जानकारी दिदै जानु पर्दछ । यसरी सहकारीको वारेमा सबै सरोकारवालाई राम्रो जानकारी दिएपछि सहकारीलाई सहकारीको रुपमा लागु गर्न सहज हुन्छ र त्यसबाट मुलुकको दिगो विकास हुने संभावना बढ्दछ ।