काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेपालको अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र संरचनागत सुधारको आवश्यकता औंल्याएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको बजेट अ होलिस्टिक डिस्कोर्स कार्यक्रममा बोल्दै सापकोटाले आर्थिक सुधारका आवश्यक क्षेत्रलाई गहिरो रुपमा अध्ययन गरेर काम गरेमा नेपालको अर्थतन्त्र प्रभावकारी रुपमा अघि बढ्न सक्ने बताए ।
उनले नेपालको वर्तमान अर्थतन्त्रमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि कृषि क्षेत्रको व्यवसायीकरण अत्यन्त आवश्यक रहेको बताए । कृषि प्राधिकरणलाई निजी क्षेत्रको ५० प्रतिशत स्वामित्वमा स्थापना गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘अहिलेकै संरचनाले यसलाई व्यवसायीकरण गर्न सक्छ भन्ने कुरामा हामीले सोच्नुपर्छ ।’
यस्तै, पर्यटन र हवाई क्षेत्रको संरचनामा सुधारको आवश्यकता रहेको र प्राधिकरणलाई नाफामा केन्द्रित गरिराख्नाले जलविद्युत र उर्जा क्षेत्रमा समस्याहरू उत्पन्न भइरहेको पनि सापकोटाले बताए । उनले राष्ट्र बैंक जस्तो संस्थाको भूमिका अन्य प्राधिकरणहरूले पनि आत्मसात गर्नुपर्ने बताए ।
सूचना प्रविधि क्षेत्रमा पनि कर सुधारको आवश्यकता रहेको उनले बताएका छन् र साना, घरेलु र मझौला उद्योगलाई तीव्र गतिमा अघि बढाउनका लागि उपायहरू अपनाउनुपर्ने महत्त्वपूर्ण कुरा उठाए । सापकोटाले भने, ‘समग्र अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सकेको अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ ।’ उनले हालको बजेटलाई सकारात्मक कदमको रूपमा हेरे पनि अझै केहि सुधारको आवश्यकता रहेको पनि बताए ।