काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत रु. एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा रु. एक अर्ब ३५ करोड रकम अर्थात् ०.८६ प्रतिशतले गिरावट आएको हो ।
गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटे पनि राजस्व संकलनमा वृद्धि भएको बताए ।
चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले रु. ६४ अर्ब ५० करोड रकम राजस्व संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट रु. ५८ अर्ब ४८ करोड राजस्व संकलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्व १०. ३१ प्रतिशतले वृद्धि भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु. ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा रु. ८३ अर्ब ४७ करोड मूल्य पर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ ।
कार्यालयका अनुसार चालु आवमा डिजेल आयात बापत कार्यालयले रु. ३५ अर्ब ७० करोड राजस्व संकलन गरेको छ भने गत आवको सोही अवधिमा रु. ३२ अर्ब ७२ करोड राजस्व संकलन गरेको थियो ।
चालु आवको १० महिनामा रु. ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी गत आवको १० महिनामा रु. ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो ।
चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व संकलन गरेको छ भने गत आवको सोही अवधिमा रु. १८ अर्ब ७० करोड राजस्व संकलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा रु. ३० अर्ब २८ करोड मूल्य पर्ने रु. २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ ।
जबकी गत आवको सोही अवधिमा रु. २५ अर्ब १९ करोड मूल्य पर्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँस आयात बापत रु पाँच अर्ब ६७ करोड राजस्व संकलन गरेको छ भने गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट रु. चार अर्ब ७० करोड राजस्व संकलन गरेको थियो ।
वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा रु. १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ । जबकी गत आवको १० सोही अवधिमा रु. १५ अर्ब ४७ करोड मूल्य पर्ने एक लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो ।
कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात बापत रु. दुई अर्ब १७ करोड राजस्व संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा रु. दुई अर्ब २२ करोड राजस्व संकलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा रु. ५५ करोड मूल्य पर्ने छ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ ।
जबकी गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने पाँच हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयातबाट रु. १५ करोड राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा पनि १५ करोड नै राजस्व संकलन गरेको थियो ।