Logo

‘ब्याकलग’मा २० लाख बढी लाइसेन्सको छपाई बाँकी : नागरिक एपले सहज बन्यो विभागको काम, अत्यावश्यक मात्रै छपाई गर्दै

‘ब्याकलग’मा २० लाख बढी लाइसेन्सको छपाई बाँकी : नागरिक एपले सहज बन्यो विभागको काम, अत्यावश्यक मात्रै छपाई गर्दै



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई र वितरणको जिम्मेवारी सम्हाल्दै आएको यातायात व्यवस्था विभाग पछिल्लो समय निकै सहजरुपमा चलिरहेको छ । कुनैबेला सवारी लाइसेन्सकै कारण भीडदेखि विभिन्न समस्या झेल्दै सकसका साथ चलिरहेको विभाग पछिल्लनो समय नागरिक एपमा लाइसेन्स देखाउन मिल्ने व्यवस्था कार्यान्वयन भएपछि निकै सहज बनेको छ । यसअघि प्राविधिक कारण देखाउँदै लाइसेन्स छपाईमा समस्या झेल्दै आएको विभाग हाल भने माग न्यून हुँदा आफै सुस्ताएको देखिन्छ ।

विभागले हाल अत्यावश्यक लाइसेन्स छपाईलाई विशेष जोड दिएर काम गरिरहेको छ । तर, नियमित (रेगुलर) लाइसेन्स वितरणमा भने बेवास्ताजस्तै गरेको सर्वसाधारणको गुनसो छ । विभागसँग दैनिक ५ हजारको दरले लाइसेन्स छपाई गर्ने क्षमता छ । तर, यसअघि विभागले सोही बमोजिम छपाई गर्न नसकिरहेको अवस्था थियो । एकातर्फ सेवाग्राहीको चाप, अर्कातिर बढ्दै गएको सवारी लाइसेन्सको छपाईको कामका कारण विभागमा छापेर वितरण गर्नुपर्ने लाइसेन्सको ब्याकलग हाल पनि २० लाख माथि छ । तर, पछिल्लो समय सेवाग्राहीले लाइसेन्सको परिक्षा पास गरिसक्नेवित्तिकै डिजिटल लाइसेन्स नागरिक एपमा जाने र सोही एपलाई ट्राफिक प्रहरीले पनि मान्ने भएपछि विभागलाई हाइसन्चो भएको ।

विभागका अनुसार हाल प्रत्येक दिन करिब ५ हजार सेवाग्राही लाइसेन्सको परीक्षमा पास भइरहेका छन् । तर, उनीहरुले भौतिक लाइसेन्सलाई अत्यावश्यकका रुपमा लिईएको देखिँदैन । यसअघि विभागकै कमजोरीका कारण लाइसेन्सको ट्रायल पास गरेको करिव २ देखि साढे २ बर्षसम्म पनि लाइसेन्स नआउँदा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका थिए । त्यसमाथि सडकमा सवारी चलाउँदा ट्राफिकलाई बुझाउनुपर्ने यातायात कार्यालयमा राजस्व तिरेको चिर्कुटो समयक्रमसँगै गल्ने, फाट्ने र च्यातिने समस्या थियो । तर, अब सेवाग्राहीरले त्यस्तो चिर्कुटो नबोक्दापनि भएको छ । मोबाइलमै नागरिक एपमा स्वतः ट्रायल पास गर्नेवित्तिकै लाइसेन्स देखिने भएपछि सेवाग्राही राजस्व तिरेको चिर्कुटोको भर पर्नुपरेको छैन । जसका कारण सेवाग्राहीले जति लामो समयसम्म लाइसेन्स नपाएपनि मतलब नगर्ने अवस्था आएको विभागका सूचना अधिकारी गणेशमान सिंह राई बताउँछन् ।

‘लाइसेन्स नागरिक एपमै प्रविष्ट हुनुअघि यसको मागको चाप जति थियो त्यति चाप हाल विभागमा छैन,’ उनले भने, ‘सेवाग्राहीहरुले नै यसमा बेवास्ताजस्तै गरेको देखिएको छ ।’ उनका अनुसार विभागले हाल आफुअनुकुल र क्षमताले भ्याएजति मात्रै लाइसेन्स छाप्दै सम्बन्धित यातायात कार्यालयहरुमा पठाउने गरेको छ । यद्यपि लामो समयदेखि ट्रायल दिएर बसेका सेवाग्राहीहरुले अहिले पनि बर्षौसम्म लाइसेन्स नपाएको गुनासो गर्ने गरेका छन् ।

यसैबीचमा केही समय अघि सवारी चालक अनुमतिपत्र सुरक्षण मुद्रण केन्द्रमार्फत छाप्नेगरी सम्झौतासमेत भईसकेको छ । त्यतिमात्रै होईन अब लाइसेन्स छपाईको व्यवस्था प्रदेशस्तरमै गर्नेगरी तयारी गरिँदा पनि विभागलाई हाईसन्चो भएको विभागका अधिकारीहरु बताउँछन् । बागमती र मधेश प्रदेशलाई प्रणाली हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइसकिएको पनि छ ।

विस २०७४ सालदेखि संघीयता कार्यान्वयनसँगै स्मार्ट लाइसेन्स कार्डको प्रयोग सुरु भएपनि स्थिर नीति र पर्याप्त पूर्वाधार अभावकै कारण छपाई र वितरणमा वर्षौंसम्म जटिलता देखिँदै आएको थियो । तर, पछिल्लो समय प्रविधिको विकाससँगै मोबाइलमै लाइसेन्स देखिने र ट्राफिकले पनि त्यसलाई मान्यता दिएपछि विभागले यसअघि झेल्दै आएको सेवाग्राहीको चाप धेरै न्यून भएको छ । जसका कारण हाल विभागमा २० लाख बढी लाइसेन्स छापेर वितरण गर्नुपर्ने भएपनि विभाग दैनिकजसो ६ सयदेखि १ हजारसम्म अत्यावश्यक लाइसेन्स मात्र छपाईमा व्यस्त छ ।

प्रतिक्रिया दिनुहोस्