काठमाडौं । संसदको विहिबार बस्ने बैठकमा बजेट पेश हुँदैछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको विहिबार अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गरिएको जनाइएको छ। संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेट अघि उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि विहिबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ । जेठ १५ गते संघीय सरकारको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार हरेक वर्ष जेठ १५ का दिन बजेट सार्वजनिक गरिदै आएको छ ।