काठमाडौं । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग कायमै राख्दै मध्यमार्गी बाटो लिने निर्णय गरेका छन् । बुधबार बसेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको काम यथावत राख्दै बजेट भने पेस गर्न दिने निर्णय गरेका हुन् । ‘बजेट आउने दिन संविधानमा किटान गरेको कुरा छ । यसलाई हामीले मान्नै पर्छ अटेर हुने कुरा भएन,’ बैठकमा भएको निष्कर्ष सुनाउँदै माओवादी सांसद लेखनाथ दाहालले भने, ‘बजेट पेस हुने बैठकमा चाहिँ लचिलो हुने भन्ने छ ।’
उक्त बैठकले गृहमन्त्रीको राजीनामा नै विपक्षीको बटम लाइन भएको निर्णय गरेको पनि उनले सुनाए । यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन् । संसद् भवनमा प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए । कुराकानीमा प्रचण्डसँग ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा उनले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन् । कांग्रेस पदाधिकारी बैठकले त उनले राजीनामा नदिने निर्णय नै गरिसकेको छ । आजको बैठकमा लेखकले जवाफ दिने तयारी गरेका थिए । तर विपक्षीले अवरोध गरेपछि ११ बजे भनिएको बैठक १ बजे सुरु भए पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।