Logo

बजेटमा कर बढ्ने हल्लाले बजारमा चुरोटको हाहाकार, कति प्रतिशत बढ्ला कर ?

बजेटमा कर बढ्ने हल्लाले बजारमा चुरोटको हाहाकार, कति प्रतिशत बढ्ला कर ?



काठमाडौं । यही जेठ १५ गते सार्वजनिक हुन लागेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुँदैछ । सो बजेटमा सधैंझै मदिरा, चुरोटलगायतका वस्तुमा कर तथा अन्तशुल्कलगायत वृद्धि हुने बजारमा विभिन्न अड्कल र हल्ला चलिरहेका छन् । सरकारले बजेटमार्फत चुरोट तथा सुर्तीजन्य पदार्थमा १० प्रतिशत कर वृद्धि गर्ने हल्ला चलेपछि बजारमा चुरोटको आपूर्ति अनियमित हुन थालेको छ ।

बजेट आउनु केही दिनअघि नै चुरोटको थोक व्यापारमा संलग्न व्यापारीहरूले अस्वाभाविक तरिकाले ठूलो परिमाणमा चुरोट भण्डारण गर्न थालेका छन् । बसुन्धारास्थित एक थोक विक्रेताले नाम नखुलाउने सर्तमा भने, ‘बजेटमा कर बढ्ने पक्का छ भन्ने हल्ला आएकोले केही ठूला व्यापारीले करोडौं रुपैयाँ बराबरको चुरोट अहिले नै स्टक गरेर राखेका छन् ।’ उनका अनुसार अहिले चुरोट बिक्री भन्दा पनि गोदाममा थन्क्याउने काम तीव्र गतिमा भइरहेको छ ।

यस्तै प्रतिक्रिया अन्य थोक विक्रेताहरूको छ । नयाँ बानेश्वरस्थित अर्को थोक विक्रेताका अनुसार पनि, ‘अहिले पुरानै मूल्यमा किनेर बजेटपछि मूल्य बढाएर बेच्ने नाफा कमाउने रणनीतिअन्तर्गत व्यापारीहरूले चुरोट जम्मा गर्न थालेका छन् ।’ उनका अनुसार सामान्यतः दैनिक बिक्री भइरहने ब्राण्डका चुरोटहरु बजारमा अहिले पाउनै गाह्रो परेको छ ।

यसपटक मात्र होइन, विगतका वर्षमा पनि बजेट अघि यस्तै हल्ला र अनुमानका भरमा व्यापारीहरूले अत्याधिक मुनाफा कमाउने प्रवृत्ति देखिँदै आएको छ । आर्थिक वर्ष २०७९/८० र ८०/८१ को बजेटमा पनि चुरोटमा कर बढ्ने घोषणा अघि धेरै व्यापारीले अघिल्लो महिनादेखि नै ठूलो परिमाणमा चुरोट जम्मा गरेका थिए । परिणामस्वरूप, बजेटपछिको मूल्य वृद्धिपछि तिनीहरूले खुद्रा बजारमा मूल्य बढाएर बिक्री गरी दोब्बरभन्दा बढी नाफा कमाएका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा पनि चुरोट र मदिरामा कर बढ्ने खबर सार्वजनिक हुनासाथ धेरै व्यापारीले गोप्यरुपमा माल थुपार्ने र बजेटपछि महँगोमा बिक्री गर्ने गरेकाले आम उपभोक्ता मारमा परेका थिए । बजारमा व्यापारीले हल्लाका भरमा कृत्रिम अभाव सिर्जना गर्ने र बजेटपछि मूल्य वृद्धिलाई ‘बहाना’ बनाएर मनपरी मूल्यमा सामान बिक्री गर्ने गरेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।

यसपटक पनि त्यस्तै प्रवृत्ति दोहोरिने संकेत देखिएको तारकेस्वरस्थित थोक विक्रेता नवराज बराल बताउँछन् । चुरोटको थोक गोदामहरूमा अहिले पहिलेको तुलनामा सामान्यभन्दा दोब्बर माल जम्मा गरिएको जानकारी पाएको उनी बताउँछन् । यसरी धेरै व्यापारीहरूले कर बढेपछि तत्काल नयाँ मूल्यअनुसार सामान नआउँदासम्म पुरानै स्टक नयाँ मूल्यमा बिक्री गर्न सक्नेछन्, जसले गर्दा तिनीहरूले ठूलो आर्थिक लाभ लिने सम्भावना छ । स्रोतका अनुसार अहिले बजारमा सबभन्दा बढी बिक्री हुने ब्राण्डहरू, जस्तै सूर्य, शिखर, र क्याप्टेनजस्ता चुरोटहरू पाउन मुस्किल हुन थालेको छ । खुद्रा विक्रेताहरू भन्छन्, ‘थोक व्यापारीले नै सामान नदिने भएकाले हामीसँग बिक्री गर्ने चुरोट नै छैन । अहिले हामीले पाए पनि पहिलेको मूल्यमा पाइँदैन ।’

यससम्बन्धमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले अहिले बजार अनुगमनको काम भइरहेको बताए । उनले भने, ‘‘यदि कसैले कृत्रिम अभाव सिर्जना गरेर बजारमा मूल्य अस्वाभाविक रूपमा बढाउने काम गरिरहेको भेटिएमा आवश्यक कारबाही गरिनेछ ।’ यद्यपि, विगतमा यस्ता कारबाहीले खासै प्रभाव पार्न सकेको देखिँदैन ।

बजेट सार्वजनिक हुनुभन्दा अगाडि नै हल्लाका भरमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र त्यसको फाइदा लिने प्रवृत्ति नियन्त्रण गर्न सरकारको तत्परता कति प्रभावकारी हुन्छ भन्नेमा भने प्रश्न उठ्न थालेको छ । उपभोक्ता हित संरक्षण मञ्चका अनुसार यस्ता प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउन सरकार गम्भीर नहुन्जेल उपभोक्ताले बारम्बार ठगिनुपर्ने अवस्था रहिरहने छ ।

प्रतिक्रिया दिनुहोस्