Logo

पाँच वर्षदेखि अलपत्र चक्रपथ दोस्रो खण्ड विस्तार : सर्भेमाथि सर्भे, काम कहिले ?

पाँच वर्षदेखि अलपत्र चक्रपथ दोस्रो खण्ड विस्तार : सर्भेमाथि सर्भे, काम कहिले ?



काठमाडौं । विगत लामो समयदेखि अलपत्र परेको चक्रपथ विस्तारको दोस्रो खण्डको विस्तारमा झन अन्यौलता बढेको छ । करिव २ महिना अघि अब छिट्टै काम सुरु गर्ने प्रतिवद्धता जाहेर गरेको चिनियाँ पक्षले पुनः मौनता देखाएको हो । चिनियाँ पक्षले आयोजनाको कलंकी बसुन्धारा खण्डसम्म हालसम्म ३ पटकसम्म सर्भे गरिसकेको छ । तर, पुनः सर्भे गर्न लागेकाले यसमा अन्यौलता थपिएको हो । करिव ५ बर्षदेखि अलपत्र अवस्थामा रहेको चक्रपथ विस्तारको दोस्रो खण्डको विस्तृत परियोजना अध्ययन (डीपीआर) निर्माण गर्ने भन्दै ५ बर्षअघि नै चिनियाँ पक्षले तयारी थालेको थियो ।

त्यसयता चिनियाँ पक्षले दुईपटकसम्म उक्त खण्डको सर्भे गरिसकेको छ । तर, पुनः यसको काम लम्बिने गरी सर्भे सुरु गरेको छ । यसअघि दुई महिना अघिमात्रै डिपिआर निर्माणकै लागि भन्दै चिनियाँ एक कम्पनीले उक्त सडकको सर्भे गरेको थियो । तर, पुनः यसपटक पनि नयाँ कम्पनीले सर्भे सुरु गरेको आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । ‘दुई महिनाअघि सर्भे गरेको कम्पनीभन्दा फरक र नयाँ कम्पनीले हाल पुनः सडकको सर्भे सुरु गरेको छ,’ उनले भने, ‘पछिल्लो सयम सर्भेको कामबाहेक अन्य काम अघि बढ्न सकेका छैनन् ।’

५ बर्ष अघि नै यसको विस्तृत अध्ययन र डिजाईनसँगै निर्माणसमेत गर्ने जिम्मा लिएको चिनियाँ पक्षले हालसम्म आलटाल गरिरहेको आयोजनामा अब भने डिपीआर बनाउने तयारी गरेको भन्दै सकारात्मक आशा देखाएपनि पछिल्लो समय चिनियाँ पक्षले सर्भेमाथि सर्भे गरिरहँदा आयोजना अघि बढ्ने समयमै अन्यौलता छाएको सडक विभागका अधिकारीहरु बताउँछन् । दुई महिनाअघि मात्रै एक परामर्शदाता कम्पनीले चक्रपथ दोस्रो खण्डको सर्भे गरेको थियो । उक्त सर्भे गर्ने क्रमममा कम्पनीले चक्रपथको विस्तृत परियोजना अध्ययन गर्नका लागि आवश्यक अध्ययनको शैलीसमेत अपनाएको थियो । तर, चिनियाँ पक्षले नेपालको सडक सर्भे गरेको भन्दापनि अर्कै कम्पनीलाई परामर्शदाता कम्पनी छनोट गरी डिपीआरको काम अघि बढाउन पुनः सर्भे सुरु गरिएको देखिन्छ ।

नेपाली पक्षले यो परियोजना निर्माणका लागि भन्दै साइट क्लियरिङको कामसँगै रुख कटान र भवन भत्काउने काम गरिसकेको छ । यसरी साइट क्लियरको काम गर्दा यो क्षेत्र धुलाम्य र हिलाम्य बन्ने गरेको छ । नेपाली पक्षबाट हुने काम सम्पन्न भएपछि डिपीआर तयार पारी निर्माणको काम गर्ने भन्दै चिनियाँ टोली ५ बर्षअघि चीन फर्केको थियो । नेपाली पक्षबाट हुनुपर्ने कामहरु सबै सम्पन्न भएको करिव डेढ बर्ष वित्यो । त्यतिमात्रै होइन नेपाली पक्षले साइडलेन निर्माण पनि करिव अन्तिम चरणमा पुर्याइसकेको ओझा बताउँछन् । ‘हामीले साइट क्लियरको काम गत बर्ष नै सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘साइडलेन कालोपत्रे गर्ने काम पनि चालु आर्थिक बर्षको अन्त्यसम्म सकिनेछ ।’

यसअघि पटकपटकको आग्रहलाई बेवास्ता गर्दै आएको चिनियाँ पक्षले गत मंसिरमा भएको प्रधानमन्त्रीको चीन भ्रमणले केहि काम गर्ने आशा गरिएको थियो । तर, त्यो भ्रमणलेसमेत उल्लेख्य उपलब्धि देखिएको छ्रैन् । करिव ५ बर्षदेखि विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरिरहेको बताउँदै आएको चिनियाँ पक्षले हालसम्म पनि उक्त परियोजना अघि बढाउने प्रारम्भिक कामसम्म गर्न नसकेपछि नेपाली पक्षले यो आयोजना अघि बढ्ने बिषयमा सम्भावना देख्न छोडिसकेको थियो । तर, पछिल्लो समय भने चिनियाँ पक्षले डिपीआरको काम अघि बढाउने भनेपछि केहि आशा जगाएपनि सर्भेमाथि सर्भे गरिँदा यसको समय, गालत र अन्यौलता झन् बढ्दै गएको उनी बताउँछन् । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी ५ बर्षअघि नै निर्माण सम्पन्न गर्नेगरी काम गर्ने चिनियाँ पक्षले बताएको थियो । यसअघि २०७५ सालमा पहिलो खण्ड कोटेश्वरदेखि कलंकीसम्म निर्माण सम्पन्न गरेर दोस्रो खण्डको साइट क्लियर गर्न आग्रह गर्दै चिनियाँ ठेकेदारसहितको टोली चीन फर्केको थियो ।

प्रतिक्रिया दिनुहोस्