काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले परम्परागत रूपमै व्यवसायीहरू आफ्नो नाफाको लागि मात्रै कुरा गर्छन् भन्ने दृष्टिकोण रहेको भन्दै उक्त धारणा गलत भएको बताए । उनले निजी क्षेत्रलाई हेर्ने र बनाइने धारणालाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।
मुलुकको राजश्व वृद्धि, रोजगारी सिर्जना र आम नागरिकलाई दिने सेवा लगायतका क्षेत्रमा निजी क्षेत्रको योगदानलाई ध्यानमा राखेर तीनै सरकारले बजेट ल्याउनुपर्ने पर्ने बताए । उनले निजी क्षेत्रको लगानीलाई वृद्धि गर्ने तरिकाले केन्द्र, प्रदेश र स्थानीय तहले बजेटमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले भने,’प्राइभेट सेक्टरलाई हेर्ने जुन एउटा दृष्टिकोण छ परम्परागत रूपमा, यिनीहरू व्यवसायीहरू नाफाको लागि मात्रै कुरा गर्छन् भन्ने दृष्टिकोण आम पब्लिकमा पनि छ । जुन धेरै गलत छ । त्यो धारणा परिवर्तन गर्नुपर्छ । जबसम्म हामीले लगानी गर्नको लागि, राजश्व बढाउनको लागि, रोजगारी सिर्जना गर्नको लागि आम पब्लिकलाई दिने सर्भिस जुन प्राइभेट सेक्टरले दिएको छ, त्यसलाई वृद्धि गर्ने हिसाबले वास्तवमा चाहे केन्द्र, प्रदेश र स्थानीय तहको तर्फबाट आउने बजेटमा त्यसलाई प्राथमिकता दिनुपर्छ । निजी क्षेत्रको लगानीलाई वृद्धि गर्ने तरिकाले जानुपर्यो ।’
उनले निजी क्षेत्रलाई लगानीको वातावरणको सिर्जना गराउनु आजको प्रमुख आवश्यकता रहेको दोहोर्याए ।